अमेरिकाले गरेको हमलाबाट इरानका परमाणु भट्टीहरू पूर्ण रूपमा ध्वस्त नभएको खुलेको छ।
अमेरिकी गुप्तचर निकायले डिफेन्स इन्टेलिजेन्स एजेन्सीले गरेको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार इरानको परमाणु परियोजनाहरू सम्पूर्ण रूपमा ध्वस्त नभएको खुलेको हो।
पेन्टागनका तीन जना गुप्तचर अधिकारीहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले क्षतिको प्रारम्भिक मूल्यांकन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथको दाबी विपरित रहेको समाचार लेखेको छ।
ट्रम्पले अमेरिकी हमलाबाट इरानको परमाणु कार्यक्रम कामै नलाग्ने गरी ध्वस्त भएको दाबी गरेका थिए। रक्षामन्त्री पिट हेगसेथले पनि इरानको परमाणु भट्टिहरू पूर्ण ध्वस्त भएको बताउँदै आएका छन्।
डिफेन्स इन्टेलिजेन्स एजेन्सीका एकजना गुप्तचरले इरानले परमाणु कार्यक्रम जमिनको धेरै मुनी चलाएका कारण थोरै मात्रै क्षति पुगेको बताएका छन्।
अमेरिकी मिडिया सिएनएनले पनि गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै त्यसरी जमिनमुनि चलाइएका परमाणु कार्यक्रमहरू अमेरिकी आक्रमणबाट नष्ट नभएको बरू आंशिक क्षति पुगेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा उल्लेख रहेको बताएको छ।
प्रतिवेदनबारे जानकार एक स्रोतले हमलाले फर्दोको भूमिगत सुविधाको प्रवेशद्वार बन्द गरेको तर भित्री संरचना र युरेनियम भण्डारमा ठूलो क्षति नभएको भनेका छन्।
रोयटर्सले अमेरिकाको हमलाअघि नै युरेनियम र महत्त्वपूर्ण उपकरणहरू आणविक केन्द्रबाट हटाइसकेको भनेर पेन्टागनकै एकजना गुप्तचर अधिकारीलाई उद्धृत गरेर समाचार लेखेको छ।
मक्सर टेक्नोलोजिजले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा हमलाअघि ठूलो संख्या फर्दोको आणविक भट्टी प्रवेशद्वारमा धेरै संख्यामा ट्रकहरू देखिएको थियो। त्यसले पनि युरेनियम र महत्त्वपूर्ण उपकरण इरानले अगाडि नै अन्यत्र सारेको हुनसक्ने आकलन थियो।
यद्यपि इरानको आणविक कार्यक्रम दुईदेखि पाँच वर्ष पछाडि धकेलिएको दाबी अमेरिकी अधिकारीहरूको थियो। पेन्टागनको गुप्तचर निकायले त्यो दाबी पनि खण्डन हुनेगरी इरानको आणविक कार्यक्रम एकदेखि दुई महिनामात्रै पर धकेलिएको भनेका छन्।
यी प्रारम्भिक मूल्यांकन मात्रै भएको र साइटहरूमा भएको क्षति र इरानको आणविक महत्वाकांक्षामा आक्रमणको प्रभावको विश्लेषण जारी रहेकाले मुल्यांकन परिवर्तन हुन सक्ने भनेर सिएनएनले लेखेको छ।
तर ट्रम्प र हेगसेथको दाबी खण्डन हुनेगरी प्रारम्भिक मूल्यांकन विवरण सार्वजनिक भएको सिएनएनले जनाएको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उक्त सूचना भ्रामक भएको बताएकी छन्।
'प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन गोप्य राखिएको थियो। उनले राष्ट्रपति ट्रम्प र इरानको परमाणू कार्यक्रम नष्ट गर्न सटिक मिसन पूरा गर्ने बहादुर पाइलटहरूको अवमूल्यन गर्ने प्रयासस्वरूप प्रतिवेदन लिक गरी भ्रम फैलाइएको हो,' लेभिटले सिएनएनसँग भनेकी छन्।
अमेरिकाले आइतबार फर्दो, नतान्ज र इस्फहानका परमाणु कार्यक्रममा प्रहार गरेको थियो। फर्दोको जमिनमुनि सञ्चालित आणविक भट्टीमा अमेरिकाले ३० हजार पाउण्ड भारका १२ वटा जिबियू-५७ बम खसालेको थियो।
जिबियू-५७ अमेरिकासँग मात्रै भएको बंकरभेदी बम हो। यसले जमिनमुनि पुगेर संरचनाहरू ध्वस्त बनाउन सक्छ। १२ वटा जिबियू-५७ बम खसालिएका कारण फर्दो पूर्ण रूपमा ध्वस्त भएको ट्रम्पले बताउँदै आएका छन्।
अमेरिकाले हमला गरेपछि इरानले पनि कतार र इराकका अमेरिकी सैन्य संरचनामा मिसाइल प्रहार गरेको थियो।
युद्धको १२ दिनपछि मंगलरबार इरान र इसराइलबीच युद्धविराम घोषणा भएको छ। ट्रम्पले नै दुई देशबीच युद्धविराम घोषणा गरेका थिए।
१२ दिनको युद्धमा ईरानमा ६१० र इजरायलमा २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।