चार वटा गाडी एकै ठाउँमा ठोक्किएर अवरूद्ध बनेको धनकुटा पाख्रीबासको सडक दुई घन्टापछि खुलेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले दिएको जानकारी अनुसार आज बिहान ११ बजे अवरूद्ध बनेको सडक दिउँसो १ बजेपछि खुलेको हो।
उनका अनुसार पाख्रीबास नगरपालिका–५, डिकुरेमा चार वटा गाडी ठोक्किएर सडक अवरूद्ध भएको थियो।
मध्य पहाडी लोकमार्गको पाख्रीबास–लेगुवा सडक खण्डमा ट्रक, दुई वटा टिपर र अर्को एक गाडी ठोक्किँदा बिहान करिब ११ बजेदेखि सडक ठप्प भएको थियो।
भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रकको एक्सलु भाँचिएर पछाडि सरेपछि पछाडि रहेका तीन वटा गाडी पनि ठोक्किएका हुन्। ट्रक पछि सर्दा प्रदेश १–०२–००१ ख ४८९१ नम्बरको टिपरसँग ठोक्किएको थियो।
टिपर पनि पछाडि धकेलिँदा प्रदेश १–०२–००१ ज ४६७८ नम्बरको गाडीलाई ठक्कर दिएको थियो। उक्त गाडीले उसको पछाडि रहेको प्रदेश १–०२–००१ ख ४८९२ नम्बरको अर्को टिपरलाई ठक्कर दिएको थियो।