मुगुमा करेन्ट लागेर दसवटा खच्चड मरेका छन्।
ढुवानीका लागि प्रयोग गरिएका १० खच्चड हिँडिरहेको समयमा नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट भएपछि करेन्ट लागेर मरेका हुन्।
स्थानीय छायाँनाथ रारा गाउँपालिका–१ का कर्णबहादुर मल्लका चार वटा, छायाँनाथ रारा– १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीन वटा खच्चर बाटोमा भारी बोकेर हिडिरहेको समयमा वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर घटनास्थलमै मरेका मुगुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अच्यूतराज आचार्यले सेतोपाटीलाई बताए ।
आचार्यका अनुसार ती खच्चडहरु सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुको कार्मारोङ गाउँपालिका तर्फ जाँदै गर्दा आइतबार बेलुकी ६ बजेतिर ट्रान्समिटरबाट विद्युत चुहावट भइ करेन्ट लाग्न पुग्दा घटनास्थलमै मरेका थिए ।
प्रमुख जिल्ला अधिकारीले घटना लगतै विद्युतमा फोन सम्पर्क गरि तत्कालै कर्मचारी खटाएर विद्युत ट्रान्समिटर बाट जमिनमा भइ रहेको करेन्ट प्रवाह रोक्न तथा मर्मत गर्न लगाएको प्रहरी निरीक्षक आचार्यले बताए ।
प्राधिकरणले विद्युत अर्थिङ सुरक्षित बनाउन ध्यान नदिएको हुँदा क्षति भएको भन्दै तत्काल व्यवस्थित गर्न स्थानीयले माग गरेका छन्। बिद्युत ट्रान्समिटर बाट जमिनमा करेन्ट प्रवाह भएका कारण खच्चडलाई करेन्ट लागेको थियो। खुट्टामा चप्पल जुत्ता लगाएका कारण खच्चड धनि भने जोगिन सफल भएका थिए ।
स्थानीयले खच्चड धनिलाई विद्युत कार्यालयले क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एउटा खच्चडको मूल्य कम्तिमा एक लाख ५० हजारसम्म पर्ने स्थानीयले बताएका छन् । विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण जोखिम बढेको तथा किसानको क्षति भएको भन्दै स्थानीयले सम्बन्धित कर्मचारीलाई कारबाहीको माग गरेका छन्।
विद्युतका कर्मचारीले भने बर्षाको समयमा कहिलेकाहिँ यस्तो समस्या उत्पन्न हुन सक्ने भन्दै आफ्नो बचाउ गरेका छन्।
शुक्रबार मात्रै छायाँनाथ रारा – १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैंसी करेन्ट लागेर मरेको थियो।