पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
शनिबार मध्यराति १२:४५ बजे जगरनाथपुर गाउँपालिका-४ मा २१ वर्षीया लालबीबी खातुनको हत्या भएको हो। उनी सुतिरहेको स्थानमा मृत फेला परेको भन्ने खबर प्रहरीले पाएको थियो।
घटना शंकास्पद देखेपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले हत्याको आशंका भएपछि २३ वर्षीय श्रीमान सफिराजा मियाँलाई पक्राउ गरेको हो।
शनिबार बिहान घटनास्थलको मुचुल्का गरेर प्रहरीले शव पोष्टमर्टमको लागि नारायणी अस्पताल पठाएको थियो।
डिएसपी किशोर लम्सालका अनुसार खातुन भारतीय नागरिक हुन्। खातुन र मियाँको डेढ वर्षअघि विवाह भएको थियो।
मियाँले खातुनको घाँटी थिचेर हत्या गरेको आरोप छ।
दुई जनाबीच लामो समयदेखि मनमुटाव थियो।
मियाँ कामको सिलसिलामा हेटौंडामा बस्दै आएका थिए। उनी आल्मुनियमको झ्याल-ढोका बनाउने काम गर्थे।
उनी बेलाबेला घर आउजाउ गरिरहन्थे।
‘दुई जनाबीच सम्बन्ध पहिलेदेखि नै बिग्रिएको रहेछ। बोलचाल पनि राम्ररी नहुने रहेछ,’ डिएसपी लम्सालले भने, ‘केही समयअघि श्रीमान तीन महिनाको लागि सुधार गृहमा समेत बसेका रहेछन्।’
सुधार गृहमा बस्दा पनि श्रीमती खातुनले भेट्न नआएको भन्ने गुनासो पनि मियाँको थियो।
त्यसैबीच गत शुक्रबार राति उनी हेटौंडाबाट फर्किएका थिए। राति खातुनले नै खाना पकाएकी थिइन्।
‘बोलचाल नहुँदा खाना खातुनले पकाएपनि पस्किँदा भाउजु चाहिले पस्केर दिएको भन्ने उनको कुरा छ,’ डिएसपी लम्सालले भने, ‘श्रीमतीले राम्ररी व्यवहार नगरेको, बोलचाल नगरेकोले हत्या गरेको भनेका छन्।’
सुत्नेबेलामा मध्यराति भने रिसमा आएर घाँटी थिचेर हत्या गरेको डिएसपी लम्सालले बताए।
प्रहरीले आइतबार मियाँलाई जिल्ला अदालतमा उपस्थित गराएको छ। ५ दिन हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।