शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा भएको सवारी दुर्घटनामा मृत्यु भएकी ३१ वर्षीया पूर्णकुमारी खड्काको पनि सनाखत भएको छ।
लमजुङ जिल्ला बेसीसहर-३ घर भई हाल भरतपुर-६ चोक बजार बस्ने खड्काको आइतबार सनाखत भएको हो।
मृतक ६ जनाको शनिबार नै सनाखत भएको भए पनि एक जनाको भने पहिचान खुल्न सकेको थिएन।
खड्काको आइतबार मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको भ्यान ठोक्किएका थिए।
उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको थियो।
रेनुका, सरोज, मैयाँकुमारीसहित मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङको मृत्यु भएको डिएसपी खनालले बताए।
उक्त दुर्घटनामा ३१ जना घाइते भएका छन्।