सडक विभागको आयोजना निर्देशनालय (ए.डि.बी) ले नारायणघाट–बुटवल सडक (बर्दघाट सुस्ता पूर्व खण्ड) मा ठूला र भारी मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षमतामा बसेको बैठकको निर्णयअनुसार अर्को सूचना प्रकाशन नभइन्जेलका लागि ठूला र भारी मालवाहक सवारी साधनको सञ्चालनमा रोक लगाइएको निर्देशनालयले जनाएको छ।
साथै सो सडक खण्डमा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यो सडक खण्डको दुम्किबासस्थित विनयी खोला पुलको डाभभर्सन सडक वर्षाले बारम्बार बगाइरहेको र दाउन्ने सडकको केही स्थानमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेको निर्देशनालयको सूचनामा उल्लेख छ।
विनयी खोलामा नयाँ पुल सञ्चालन र दाउन्ने सडक मर्मत कार्य सम्पन्न हुनुअघिका लागि यो सूचना जारी गरिएको हो।
निर्देशनालयले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ।