जसरी मुटुसँग सम्बन्धित कुनै नसा बन्द हुँदा या फुट्दा हृदयघात (हर्ट अट्याक) हुन्छ, त्यसैगरी मस्तिष्कको कुनै नसा बन्द भएमा या फुटेमा मस्तिष्कघात (ब्रेन अट्याक) हुन्छ।
छातीमा अत्याधिक दुखेपछि कार्डियो अट्याक भयो भनेर हस्पिटल गएजस्तै ब्रेन अट्याकमा पनि 'बीइ फास्ट' (ब्यालेन्स, आई, फेस, आम्स, टाइम) महत्वपूर्ण हुन्छ। अर्थात् शरीरको सन्तुलन, आँखा, अनुहार, पाखुरा, बोली र समय ख्याल गर्नुपर्छ। यी ६ लक्षण देखिए भने सचेत हुन जरूरी छ।अनि जतिसक्दो चाँडो अस्पताल जानुपर्छ।
शरीरको सन्तुलनमा समस्या भयो, आँखा चल्न गाह्रो भयो, आँखा एकातिर मात्र चल्ने, आँखा तलमाथि नहुने, धमिलो देखिन थाल्यो भने ब्रेन अट्याक हुन सक्छ भनेर बुझ्नुपर्छ। त्यस्तै अनुहार (फेस) तल झर्ने अथवा बाङ्गिने हुन्छ भने टाउको दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन्छन्।त्यस्तै प्यारालाइसिस हुन्छ भने हात, खुट्टा नचल्ने पनि हुन्छ।
हर्ट अट्याक हुँदा धेरै पीडादायी तरिकाले दुख्ने भएकाले मान्छे तत्काल अस्पताल जान्छ। तर स्ट्रोक हुँदा खासै पीडा नहुने, लक्षण सामान्य देखिने भएकाले अस्पताल ढिलो गइन्छ।
अर्को महत्वपूर्ण विषय के छ भने ब्रेन अट्याकबारे सरकार समेत सचेत छैन। किनकि कार्डियाक सेन्टर धेरै खुलिसकेका छन तर न्युरो सेन्टरमा सरकारको चासो देखिँदैन।
सरकार र जनताकै तहबाट चासो नदिएकै कारण ब्रेन अट्याकबाट अकालमै मृत्यु हुने दर पनि बढ्दो छ। जस्तो: ५ वर्ष अघिसम्म नेपालमा ब्रेन अट्याकका कारण हुने मृत्यु ५ औं स्थानमा थियो। तर अहिले हर्ट अट्याकपछि दोस्रो नम्बरमा पुगेको छ। यस्तै, अवस्था रह्यो भने अर्को ५/१० वर्षमा अकालमै हुने मृत्युको पहिलो कारण ब्रेन अट्याक हुनसक्छ।
लामो समयसम्म प्रेसरले हानेका बिरामीहरू, मधुमेह भएका बिरामी, मुटुको बाथरोग भएका बिरामीलाई ब्रेन अट्याकको खतरा हुन्छ। यस बाहेक चुरोट, रक्सी सेवन गर्नेलाई पनि यो समस्या हुन्छ।
धेरैलाई के भ्रम छ भने ब्रेन अट्याक बुढेसकालमा मात्र हुन्छ भनिन्छ। तर यो बच्चालाई समेत हुने देखिएको छ। १० वर्षकै बच्चालाई मुटुको समस्या छ भने ब्रेन अट्याक हुन सक्छ।
जुन कुराले मुटुलाई असर गर्छ त्यही कुराले ब्रेनलाई पनि असर गर्छ भनेर बुझ्न जरूरी छ।
मस्तिष्कमा कुनै समस्या भए नभएको थाहा पाउन सिटी स्क्यान, एन्जियोग्राफी लगायत गर्न सकिन्छ। यसका लागि अहिले नयाँ/नयाँ प्रविधि समेत आइसकेका छन्।
टाउकोमा कुनै खालको समस्या आयो भने न्युरो इन्टरभेन्सन विधिबाट उपचार गर्न सकिन्छ। केही उपचार बाहेक धेरै उपचारमा टाउको नचिरिकन गर्न सकिन्छ। हात/खुट्टामध्ये कुनै पनि नसाबाट तार र सानो क्याथेटर छिराएर दिमागमा रहेको विभिन्न रोगको उपचार गर्न सकिन्छ। यसको लागि टाउको खोल्नु पर्दैन। यो नयाँ विशेष खालको प्रविधि हो। १५ वर्षदेखि नै विश्वका विकसित देशहरूमा यसको प्रयोग भएको भए पनि नेपालमा भने ३/४ वर्षदेखि मात्र यसको प्रयोग हुन थालेको हो।
यो प्रविधिबाट दिमागमा रगत बग्ने नसासँग सम्बन्धित जुनसुकै रोगको उपचार गर्न सकिन्छ।
त्यति मात्र होइन आँखा, नाक, कान, घाँटी लगायतको अंगको नसामा आएको समस्याको उपचार समेत यो विधिबाट गर्न सकिन्छ।
ब्रेन अट्याक भएको अवस्थामा ६ घण्टाभित्र उपचार गर्न सकियो भने पहिलाकै अवस्थामा फर्काउन सक्ने सम्भावना धेरै हुन्छ।
जसरी घरमा प्लमरले काम गर्दा पाइप फुट्यो/बन्द भयो पाइप खोल्दिने हुन्छ, मस्तिष्कको पनि त्यस्तै हुन्छ। नसा फुट्यो भने के कारणले फुट्यो पत्ता लगाएर उपचार हुन्छ।
दिमागमा भास्कुलर ट्युमर, फिस्टुला लगायतका समस्या समेत हुन्छ। फिस्टुलाको कारण आँखा रातो भएर बाहिर निस्किन्छ। तर त्यो रगतको कनेक्सनलाई बन्द गर्दियो भने आँखा तत्काल भित्र जान्छ। यसमा त चमत्कारै हुन्छ भन्दा पनि फरक पर्दैन।
दुर्घटनाको कारण अत्यधिक रगत गइरहेको छ भने पनि त्यसलाई रोक्न सकिन्छ। दिमागमा जाने नसाको कुनै पनि रोगको यो प्रविधिबाट उपचार हुन्छ।
न्युरो इन्टरभेन्सनको प्रविधिबाट उपचार गर्दैगर्दा विशेष खालको न्युरो क्याथल्याब समेत चाहिन्छ। म कार्यरत काठमडौं मेडिकल कलेज सिनामंगल र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल बासबारीमा यो सेवा उपलब्ध छ।
(न्युरो इन्टरभेन्सनमा डिएम गरेका डा. अरुण पौडेल पाटन अस्पताल र काठमाडौं मेडिकल कलेजमा कार्यरत छन्।)