भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार नगर्ने बताएका छन्।
भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको जबाफ पाकिस्तानमाथि आक्रमण गरेपछि गत महिना दुई देशबीच चार दिन युद्ध भएको थियो।
सुरूमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए। तर, भारतीय विदेश सचिव विक्रम मिस्रीले भने पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि युद्ध रोकिएको बताएका थिए। यसरी, पाकिस्तानले पहिले पहल गरेको सन्देश मिस्रीले दिएका थिए।
पाकिस्तानले अमेरिकी मध्यस्थता स्वीकार गर्दै ट्रम्पलाई धन्यवाद दिएको थियो। तर, भारतले भने अहिलेसम्म आधिकारिक रूपमा त्यसलाई स्वीकार गरेको छैन। त्यसैको निरन्तरता स्वरूप मोदीले भारतले पाकिस्तानबारे कहिल्यै मध्यस्थता स्वीकार नगरेको, अहिले स्वीकार नगर्ने, र भविष्यमा पनि कहिल्यै स्वीकार नगर्ने बताएका छन्।
आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन क्यानडा गएका मोदीले मंगलबार ट्रम्पसँग फोनमा कुरा गर्दै सो कुरा बताएका हुन्।
इसराइल-इरान युद्धका कारण ट्रम्प सो सम्मेलन बीचमै छाडेर सोमबार अमेरिका फर्किएकाले मोदीको उनीसँग एक्ला-एक्लै भेट हुन पाएन।
मंगलबार ट्रम्पसँग ३५ मिनेट फोनमा कुराकानी गरेर मोदीले त्यसबारे ट्रम्पलाई स्पष्ट पारेको विदेश सचिव मिस्रीले जानकारी दिए।
'सैन्य सञ्चालन रोक्ने बारेको छलफल भारत र पाकिस्तानबीच विद्यमान सैन्य च्यानलहरूमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा थियो,' भनेर मोदीले ट्रम्पलाई बताएको मिस्रीले खुलाए।
अमेरिकी मध्यस्थतामा युद्ध रोकिएको सार्वजनिक रूपमा स्वीकार समेत नगरेकोमा ट्रम्पले भने युद्धविराम भएको भोलिपल्ट कश्मीरको मामलामा समाधान खोज्न दुवैसँग मिलेर काम गर्ने बताएका थिए।
पाकिस्तानसँग युद्ध लगायतका द्विपक्षीय मामलामा समेत कसैको मध्यस्थता नचाहने भारतलाई उसले अभिन्न अंग भन्दै आएको जम्मू–कश्मिरबारे समेत मध्यस्थता गर्ने ट्रम्पको घोषणाले अप्ठेरो पारेको थियो।
ट्रम्पले त्यसपछि पनि युद्ध रोके अमेरिकाले भारतसँग व्यापार सम्झौता गर्ने भनेपछि भारत युद्धविरामका लागि राजी भएको दाबी गरेका थिए।
मोदीले पाकिस्तानसँग भएको युद्ध रोक्ने क्रममा भारत-अमेरिकाको व्यापारबारे केही पनि चर्चा नभएको पनि ट्रम्पलाई स्पष्ट पारेको मिस्रीले बताए।
यी सबै कुरामा मोदीले ट्रम्पसँगको कुराकानीमा नै भारतको आधिकारिक धारणा राखेका हुन्।
कुराकानीका क्रममा यही वर्ष भारतले आयोजना गर्ने क्वाड शिखर सम्मेलनका लागि मोदीले दिएको निम्तो पनि ट्रम्पले स्वीकार गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)