प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित गरेर सभामुख देवराज घिमिरे पाँच दलसँग छलफलमा जुटेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु निलो खादा लगाएर उपस्थित भएपछि सत्तापक्षले नियमापत्ति जनाएका थिए।
सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित पहिरनमा उपस्थित हुनुपर्ने विषय नियमावलीमा उल्लेख रहेकोबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्ष गराएका थिए।
त्यसपछि सभामुख घिमिरेले आधा घन्टा बैठक स्थगितको घोषणा गरी प्रमुख पाँच दलका मुख्य तथा प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेको सभामुख घिमिरेलका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
त्यसअघि सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल समेत गरेका थिए।