चैत १५ गते राजावादी समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्री ८१ दिनमा अस्पतालबाट डिस्चार्ज भएकी छन्।
उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट सोमबार डिचार्ज गरिएको हो।
उनलाई प्रत्येक तीन-तीन दिनमा फलोअपका लागि आउनेगरी डिस्चार्ज गरिएको रेबिकाका बुबा तुलसीराम खत्रीले जानकारी दिए।
'गोली लागेको खुट्टामा ग्राफ्टिङ (शरीरको एक ठाउँ छाला अर्को ठाउँमा राखिने) गरिएको छ, हात समाइदियो भने उभिन सक्छिन्,' उनले भने, 'हिँडडुल गर्न भने सक्दिनन्।'
छोरीको खुट्टामा विस्तारै सुधार आइरहेको तर चिकित्सकहरूले पहिलाको जस्तो नहुने भनेको उनी बताउँछन्।
उनका अनुसार सिभिल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टर र टिचिङ अस्पतालमा उपचार भएको छ।अहिलेसम्म १० लाख रूपैयाँभन्दा बढी खर्च भएको उनले बताए।
'जेठ ३ गते टिचिङमा ल्याइएको थियो। एक महिना यहाँ बस्यौं,' उनले भने, ' यही मात्रै साढे दुई लाख रूपैयाँ खर्च भएको छ। त्यसमा हामीले आफ्नो खर्च जोडेका छैनौं।'
उनलाई गृहमन्त्री रमेश लेखकले भेटेर बिरामीसहित एक जना कुरूवाको खर्च पनि उपलब्ध गराउने आश्वासन देखाएका थिए। त्यही अनुसार टिचिङमा खर्च भएको साढे २ लाख रूपैयाँ फिर्ता पाउने आसमा उनी छन्।
यसअघि उनलाई सिभिल अस्पतालमा राखिएको थियो। त्यहाँ ८ लाख रूपैयाँभन्दा खर्च भएको छ। त्यसको भुक्तानी अहिलेसम्म नभएको उनी बताउँछन्।
'हामीले सम्पूर्ण बिल अस्पताललाई पेस गरिसकेका छौं, काम हुँदैछ भनिएको थियो। तर अहिलेसम्म आएको छैन,' उनले भने, 'फलोअपमा लग्दा पनि उपचार खर्च भने लाग्दैन।'
यो पनि:
राजावादीहरूको प्रदर्शनमा प्रहरीको गोली लागेकी रेबिका दुई महिनादेखि अस्पताल शय्यामा