इसराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।
गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको आइआरजिसीद्वारा सञ्चालित तान्सिम न्युज एजेन्सीलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
इसराइले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ।
इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको बताएका छन्।
इसराइली हमलामा पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए।
आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी शुक्रबारको भीषण हमलामा मारिएका थिए।
न्यू योर्क टाइम्सका अनुसार आइआरजिसीको वायुसेना प्रमुख जनरल अमिर अली हाजीजदेह, इरानी सशस्त्र बलका इन्टेलिजेन्स उपप्रमुख जनरल घोलम्रिजा मेहराबी, सशस्त्र फोर्सका सहायक कमान्डर जनरल मेहदी रब्बानी लगायतका अधिकारी मारिएका छन्।
सर्वोच्च नेता आयातोल्लाह अल खामेनीका मुख्य सल्लाहकार तथा लोकप्रिय नेता अली शमखानी पनि शुक्रबारकै हमलामा मारिएका छन्। उनी अमेरिकासँगको परमाणू वार्तामा समेत सहभागी थिए।
त्यतिमात्रै होइन इसराइलले परमाणू हतियार बनाउने इरानी वैज्ञानिहरू पनि मारेको छ।
मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामीसहित ६ जना वैज्ञानिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरिसकेका छन्।
त्यस्तै बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।
सर्वोच्च नेता खामेनी नै निशानामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने इसराइलको योजना रोकेको खुलेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इसराइलले इरानी सर्वोच्च नेता खामेनीको हत्या गर्ने मौका उपलब्ध भएको भनेर ट्रम्पसँग परामर्श गरेका थिए।
तर ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गरिदिएको ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
ट्रम्पले इसराइल र इरानबीचको तनावबाट हाल अमेरिकी टाढै बस्न चाहेको पनि नेतन्याहूलाई बताएका थिए। त्यसकारण क्षेत्रीय द्वन्द्व थप नबढाउन र खामेनीको हत्या गर्ने योजनाबाट पछि हट्न उनले नेतन्याहूलाई निर्देशन दिएको ह्वाइट हाउसका दुई जना अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा भनेका छन्।
इसराइली प्रधानमन्त्री नेतन्याहूसँग फक्स न्युजका ब्रेट बेइरले यस विषयममा सोधेका थिए। नेतन्याहूले ट्रम्पले अस्वीकार गरेको विषयमा सिधै नभने पनि असहमति भने जनाएनन्।
'तपाईंलाई म यत्ति भन्न सक्छु कि हामीले गर्नुपर्ने काम गरिरहेका छौं। जे गर्नुपर्छ त्यो गर्छौं। अमेरिकाले पनि आफ्ना लागि के राम्रो के नराम्रो भन्ने राम्ररी बुझेको छ,' नेतन्याहूले भनेका छन्।
शुक्रबार इरानमाथि आक्रमण गरेपछि इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लगातार ट्रम्पसँग सम्पर्क र कुराकानी गरिरहेका छन्।
सोही क्रममा उनले खामेनीको हत्या गर्ने योजना सुनाउँदा ट्रम्पले अस्वीकार गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले खामेनीलाई चाहिँ तत्काल नमार्नू भनेर निर्देशन दिएका थिए। उनले अमेरिका दुई देशबीचको द्वन्द्वमा तत्काल प्रत्यक्ष संलग्न हुन नचाहेको खुलाएका थिए।
ट्रम्पले अझै पनि इरानसँग परमाणू कार्यक्रम रोक्नेबारेको वार्ता हुने विश्वास राखेको र आक्रमण रोकेर वार्तामा आउन पटकपटक आग्रह पनि गरेका छन्। यद्यपि ओमानको मस्कटमा आइतबार हुने भनिएको वार्ता रद्द भएको थियो।
ट्रम्पले दुई महिनाअघि इसराइललाई रोकेर इरानसँग आफै वार्ता थालेका थिए। दुई महिनाअघि नै इसराइलले इरानको परमाणु कार्यक्रममाथि लक्ष्य गरेर हमला गर्ने तयारी गरेको थियो। ट्रम्पले सम्झौताका लागि आफूलाई दुई महिनाको समय दिन भनेपछि इसराइलले आक्रमण रोकेको थियो। ट्रम्पले त्यतिबेलै दुई महिनामा पनि सम्झौता नभए इसराइलले इरानमाथि हमला गर्न सक्ने भनेका थिए। पाँच पटकसम्मको वार्तमा पनि सहमति नजुटेपछि इसराइलले शुक्रबार इरानमा अचानक हमला गरेको थियो।