तीन वर्षअघि वैशाखमा ६० वर्षीय वीरबहादुर बल सधैंझैं जंगलमा गोरू चराउँदै थिए। माडीस्थित चितवन राष्ट्रिय निकुञ्ज नजिकैको जंगलमा गोरूहरू चर्दै थिए, वीरबहादुर र अन्य गोठालाहरू गफिँदै थिए।
एक्कासि ठूलो आवाज आयो। सबैको होसहवास उड्यो। हस्याङफस्याङ गर्दै हेर्दा बाघ एउटा गोरूमाथि जाइलागेको थियो।
वीरबहादुर र साथीहरू हल्ला गर्न थाले। कसैले दाउराले झटारो हाने। जब सँगैको अर्को गोरूले जोडले हान्यो, बाघ बुर्कुसी मार्दै जंगलभित्र पस्यो।
गोरूलाई सामान्य चोट मात्रै लाग्यो। गोठालाहरू धन्न बचियो भन्दै गोरू, भैंसी लिएर घर फर्किए।
वीरबहादुर केही दिन जंगल गएनन्। पहिलो पटक बाघ देखेका उनी डराएका थिए। तर हल गोहरूलाई गोठमै बाँधिराख्न मन मानेन। एक हप्तापछि गोरू फुकाएर जंगलको बाटो लागे।
त्यो दिन बाटोमै बाघसँग जम्काभेट भयो। झाडीबाट निस्किएको बाघ वीरबहादुरको 'लाले' गोरूमाथि हाम्फाल्यो। गोरे भाग्न भ्यायो।
'असारमा खेत जोत्न तयार पारिरहेको गोरूलाई निसाना बनाउने बाघ देखेर मेरो रगत उम्लिएर आयो। मैले हातमा लिएको लौरोले बझाएँ। ऊ थचक्क बसेको गोरूलाई छोडेर म भएतिर आयो। अगाडिका खुट्टाका पञ्जाले छाती र पाखुरामा हानेर मलाई ढाल्यो। मेरो शरीरबाट रगत झरिरहेको थियो। तैपनि हार मानिनँ उठेर जे–जे भेटियो त्यसैले हानेँ। त्यतिखेरसम्म गोरू उठेर भागिसकेको थियो। बाघ मैतिर जाइलाग्दै थियो। कसरी कसरी आस्कोटको पछाडिको भाग उल्टिएर मेरो अनुहारलाई छोपेछ। म पल्टिएँ,' वीरबहादुरले घटना सुनाए।

वीरबहादुर कुनै हलचल नगरी लम्पसार परिरहे। त्यसपछि बाघ अलि पर गएर थचक्क बस्यो।
आसकोटको प्वालबाट खुसुक्क हेर्दा बाघ केही पाइला उनीतिर आउँथ्यो। फेरि पछाडि फर्कन्थ्यो। अनि फेरि थचक्क बस्थ्यो।
'उसले म मरिसकेँ भन्ने सोच्यो होला सायद,' वीरबहादुरले भने, 'केही बेरपछि पछाडि फर्किएर दुई–चार पाइला हिँडेको देखेपछि म उठेर भागिहालेँ।'
पर अरू साथीहरू थिए। उनीहरूले उनलाई उपचार गर्न लिएर गए।
वीरबहादुरको छाती र पाखुरामा बाघले चिथोरेका डोबहरू अहिले पनि स्पष्ट देखिन्छन्। अनुहार छोपेर बचाउने आस्कोट उनको पालीमा झुन्डिइरहेको छ। बाघको आक्रमणबाट जोगिएका गोरू अहिले पनि उनको गोठमै छन्।
पहिले भन्दा थोरै फरक चाहिँ – ती गोरूको पछाडि पुच्छरको छेउमा दुई गोला चिह्न लगाइएको छ।
यी 'आँखा' का चिह्न हुन्। घरपालुवा पशु–चौपायालाई हिंस्रक वन्यजन्तुबाट जोगाउने उद्देश्यले यो उपाय अपनाइएको हो।
ठूला हिंस्रक वन्यजन्तुले पछाडिको भागबाट आक्रमण गर्ने अध्ययनहरूले देखाएको छ। सन् २०१५ देखि २०१८ सम्म अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका वैज्ञानिकहरूले बोत्सवाना प्रिडेटर कन्जरभेसन ट्रस्टसँग मिलेर दक्षिण अफ्रिकामा गरेको अध्ययनले यसलाई थप पुष्टि गरेको थियो।
दुई हजार ६१ वटा गाईमा गरिएको अध्ययनमा पछाडिको भागमा केही नगरिएका १५ गाई र क्रस (एक्स) चिह्न बनाइएका चार वटा गाईको सिंहको आक्रमणबाट मृत्यु हुँदा पछाडिको भागमा दुई आँखाका स्पष्ट चिह्न भएका कुनै पनि गाईहरू सिंहको निसानामा परेका थिएनन्।
यो अध्ययनमा सात सय वटा गाईको पछाडि आँखाको चिह्न बनाइएको थियो। केहीमा एक्स बनाइयो, बाँकीमा कुनै चिह्न बनाइएन।
यसबाट उनीहरूले निष्कर्ष निकाले – सिकारी प्रजातिहरू आफूतिर हेरिरहेका खुला आँखालाई दुश्मन वा आक्रमणकारी ठान्छन्।
यो अध्ययनसँगै दक्षिण अफ्रिकामा मान्छे र सिंहबीचको द्वन्द्व घटेको मानिन्छ। त्यसअघि पशु–चौपाया जोगाउन मान्छेहरूले सिंहको हत्या गर्ने क्रम बढी थियो। यसले सिंहहरू संकटमा पर्ने गरेका थिए।


सो अध्ययनलाई आधार मानेर विज्ञहरू घरपालुवा पशु–चौपायाको पछाडि नक्कली आँखा बनाइदिँदा आक्रमणबाट जोगिने सम्भावना बढी हुने बताउँछन्।
बेलायतको चेस्टर जू र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले अहिले माडीको आयोध्यापुरी मध्यवर्ती सामुदायिक वन नजिकका गाउँहरूमा पालिएका गाई, गोरू, भैंसीमा यही अध्ययन गरिरहेका छन्।
बेलायतको डार्बिन इनिसिएटिभ नामको संस्था अन्तर्गतको यो कार्यक्रममा देवेन्द्रपुरी, खरिकुना, टम्टा अनार लगायतका गाउँमा पालिएका गाई, गोरू र भैंसीमा सेतो रङले 'आँखा' र एक्स चिह्न बनाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले जानकारी दिए।
यसका लागि आँखा र एक्स चिह्नका स्ट्याम्पहरूमा इनामेल लगाएर गाई, भैंसीमा लगाउने गरिएको छ। 'आइकाउ स्ट्याम्पिङ' भनिने यो कार्यक्रम अफ्रिकामा सफल भएपछि अहिले नेपाल र भारतमा परीक्षण भइरहेको उनले बताए।
'अफ्रिकामा घरपालुवा जनावरको पुच्छरको छेउमा दुई आँखाको छाप लगाएपछि सिंहको आक्रमण कम भएको अध्ययनबाट देखिएको थियो। त्यसैले नेपालमा पनि बाघ, चितुवाजस्ता वन्यजन्तुबाट पशु–चौपाया बचाउन यसले कस्तो काम गर्छ भनेर परीक्षण गर्न थालिएको हो,' सुवेदीले भने, 'यो सफल भयो भने मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न फलदायी हुनसक्छ।'
सुवेदीका अनुसार अयोध्यापुरी मध्यवर्ती वन आसपासका १५० वटा गाई, गोरू, भैंसीमा यो अध्ययन भइरहेको छ।
कुनैमा आँखा, कुनैमा एक्स चिह्न बनाइएको छ। एक पटक लगाएको रङ गाई, गोरूमा ८ देखि १०, भैंसीमा ५ देखि ७ दिन रहन्छ। अहिले पाचौं चरणमा चलिरहेको छ। करिब एक वर्षसम्म अध्ययन गरेपछि यसको नतिजा निकाल्न सकिने उनले बताए।

विगतका तथ्यांक हेर्दा जेठदेखि असोज, कात्तिकसम्म वन्यजन्तुले घरपालुवा पशु–चौपायामाथि आक्रमण गरेका घटना धेरै छन्।
यस्तै परीक्षण चेस्टर जू र वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया (डब्लुटिआई) ले भारतको वाल्मीकि टाइगर रिजर्भमा पनि गरिरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सीमाना जोडिएकाले यसको नतिजा दुवै देशका लागि महत्त्वपूर्ण हुने सुवेदी बताउँछन्।
दुई पटक आक्रमणपछि जंगल जान डराउन थालेका वीरबहादुर बल अचेल बेला बेलामा गोरू चराउन जंगल पस्छन्।
'पछाडि आँखा बनाएपछि बाघले आक्रमण गर्दैन भन्नुभएको छ। यसै पत्याउने कुरा त भएन। हेरौं न के हुँदो रहेछ,' उनले भने, 'यति गर्दा पशु–चौपाया जोगिन्छन् भने त राम्रै भयो नि!'
सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा ३५५ वटा बाघ छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२८ वटा छन्।
चितुवाको यकिन तथ्यांक छैन। आर्थिक वर्ष २०५४/०५५ देखि २०७८/०७९ सम्मको तथ्यांक हेर्ने हो भने निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट २ हजार ७४२ पशु–चौपायाको क्षति भएको छ। यसबापत निकुञ्जले ११ करोड ७० लाख रूपैयाँ बढी राहत रकम वितरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।
उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट २४० जना व्यक्तिको मृत्यु भएको थियो। आठ सय ७ जना घाइते भएका थिए। आक्रमणका घटना बढिरहँदा मान्छेहरूले सिकारमा विष हालिदिने, पासोमा पार्ने लगायतका विभिन्न उपाय लगाएर बाघ, चितुवासँग बदला लिने गरेका छन्।