अमेरिकासँग परमाणु कार्यक्रमबारे वार्ता गरिरहेका इरानी अधिकारीको इसराइली हमलामा मृत्यु भएको छ।
शुक्रबार बिहान इसराइलले इरानमा उच्च सैनिक अधिकारी र परमाणु वैज्ञानिकहरूलाई लक्ष्य बनाएर हमला गरेको थियो।
उक्त हमलामा परी इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीका निकटमध्येका अली शमखानी पनि मारिएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।
इरानमा परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा अमेरिकाले दुई महिनायता अमेरिकासँग वार्ता गर्दै आएको छ।
वार्तको मध्यस्थता ओमानले गरिरहेको छ। ओमानको राजधानी मस्कटमा वार्ता गर्नका लागि खामेनीले बनाएको टोलीमा शमखानी पनि सहभागी थिए।
ओमानमा अमेरिका र इरानबीच पाँचौं चरणको वार्ता भइसकेको छ। छैटौं चरणको वार्ता आइतबार हुने तय थियो। वार्ता तय भएकै अवस्थामा इसराइलले इरानमा हमला गरी वार्ता टोलीकै सदस्य मारिदिएको हो।
केही अन्तर्राष्ट्रिय मिडियाहरुले शमखानी प्रत्यक्ष वार्तामा भने सहभागी नरहेको बताएका छन्। उनी केवल वार्ताको ब्रिफिङ लिएर इरानी टोलीलाई निर्देशन र परामर्श दिन्थे भनिएको छ।
शमखानी इरानका प्रमुखमध्येका नेता पनि रहेको बताइएको छ। उनी पूर्व नौसेना कमान्डर पनि हुन्। उनी खामेनीका प्रमुख सल्लाहकार पनि थिए।
इसराइली आक्रमणबाट शुक्रबार इरानका २० जना सैन्य अधिकारी र ६ जना आणविक वैज्ञानिक मारिएको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।
बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।
त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।
मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।
हमलाबाट इरानमा कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।
जबाफमा शनिबार इरानले पनि इसराइमाथि सशक्त हमला गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले इसराइलको राजधानी तेल अभिभ र जेरूसलेम लगायतका सहरहरूलाई लक्ष्य गरी ब्यालिस्टिक मिसाइल, रकेट र ड्रोन हमला गरेको छ।
हमलामा कम्तिमा तीन जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्।
तेल अभिभ र जेरूसलेममा ठूला भवनहरूमा ध्वस्त भएको भिडियो र तस्बिर पनि सार्वजनिक भएका छन्।
इसराइली डिफेन्स फोर्सले पनि इरानलाई जबाफ दिन तयार रहेको बताइसकेको छ।