मोबाइल व्यवसायीसँग रकम असुलेको आरोपमा बाँकेमा सादा पोसाकका प्रहरीहरूसहित पाँच जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट लागुऔषध लगायतका मुद्दामा फसाइदिने भन्दै रकम असुल्ने प्रहरी सहायक हवल्दारहरू मोहम्मद सफिक खान र परमानन्द बर्मा, सशस्त्र प्रहरीका जवान राम सुन्दर चौधरीलाई पक्राउ गरिएको जानकारी दिइन्।
मोबाइल पसलका सञ्चालकले आफूसँग ५ लाख रुपैयाँ असुलेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
यस घटनामा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालले समेत घुमुवासँग मिलेमतो गरेको पाइएकोले उनीहरूलाई पनि नियन्त्रणमा लिइएको खनालले बताइन्।
पक्राउ परेका पाँचै जनाविरूद्ध जिल्ला अदालतबाट आपराधिक लाभको कसुरमा म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन्।
व्यवसायीले बुधबार प्रहरीमा उजुरी दिएपछि त्यसैका आधारमा बिहीबार उनीहरूलाई पक्राउ गरिएको हो।
गत जेठ २१ गते जानकी गाउँपालिका वडा नं. ६ प्रिप्रहवाको एउटा खाजा पसलमा उनीहरूले ५ लाख नगद बुझेको प्रहरीले दाबी गरेको छ।
मोबाइल पसल सञ्चालकले उनीहरू भारतीय नम्बर प्लेटको यूपी ५० ए ए ९८८५ नम्बरको कार चढेर पैसा बुझ्न आएको प्रहरीलाई बताएका छन्। खाजा पसलमा रहेको सिसिटिभी फुटेजमा उनीहरूले पैसा बुझेको भिडिओ कैद भएको प्रहरीले जनाएको छ।