जयवीर देउवाको फोटोसहित हिल्टन होटलबारे स्टाटस लेखेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठनका संयोजक सुजित केसीविरूद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार केसीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
यो पनि: जयवीर देउवाले हिल्टन होटल किने भन्ने खबरमा शंकर ग्रुपको खण्डन
केसीले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले किनेको सन्दर्भमा स्टाटस लेखेका थिए।
उनले फेसबुकमा जयवीरको फोटो राखेर ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन्’ भन्ने स्टाटस राखेका थिए।
केसीले उक्त स्टाटस हटाएका पनि थिए।
त्यही विषयमा साइबर ब्युरोमा जाहेरी परेपछि केसी जेठ २ गते पक्राउ परेका थिए। उनी एक साता हिरासतमा बसेपछि बन्दी प्रत्यक्षीकरणबाट छुटेका थिए।
प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै केसी सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट लिएर पुगेका थिए। उनी पेसाले अधिवक्तासमेत हुन्।
जेठ ७ गते सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
यही मुद्दामा बिहीबार सरकारी वकिलले काठमाडौंमा मुद्दा दायर गरेको हो।
हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरमा शंकर ग्रुपले खण्डन गरेको थियो। हिल्टन होटलले आफ्ना पुराना संस्थापकहरू परिवर्तन नभएको विज्ञप्ति निकालेर स्पष्ट पारेको थियो।