भारतमा २४२ जना सवार जहाज दुर्घटना भएको छ।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो।
उड्नेबित्तिकै उचाइ लिन नसक्दा जहाज दुई मिनेटमै दुर्घटनामा परेको थियो।
जहाज विस्तारै तल तल खसेर एउटा घरमाथि खसेको थियो।
उक्त घर बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने आवासीय भवन हो। घटनामा १५ जना डाक्टरहरू पनि घाइते भएको विवरण सार्वजनिक भएको छ।
जहाज आवासीय भवनमा खसेकाले मानिसहरूको हताहति भएको पनि अनुमान गरिएको छ।
भारतीय अधिकारीहरूले जहाजमा सवार रहेका २४२ जनामध्ये जिवित भेटिने सम्भावना न्यून रहेको बताएका छन्।
जहाजमा १५९ जना भारतीय, ५३ जना बेलायती, एक क्यानाडेली र सात जना पोर्चुगलका यात्रु सवार थिए।
बेलायतका राजा चार्ल्स तृतीयले दुर्घटनाको अपडेट लिइरहेको भनेर बकिंघम प्यालेसले विज्ञप्ती जारी गरेको छ।
जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रूपाणी पनि सवार रहेको बताइएको छ। उनी छोरी भेट्न बेलायत जान लागेका थिए।
दुर्घटनापछि सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
दुर्घटनास्थलमा खोजी र उद्धारकार्य जारी छ।
अहिलेसम्म १३३ जनाको शव संकलन गरेर त्यहाँको सरकारी अस्पताल लगिएको छ।
अस्पतालमा मृतकका आफन्तहरूको भीड बढेको छ।
मृतकहरुको पहिचान हुन नसक्नेगरी शव जलेको भनिएको छ। डिएनए टेस्ट गरेर मात्रे शवको पहिचान हुनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह घटनास्थल जाँदैछन्। गुजरात उनीहरुको गृहराज्य हो।
एयर इन्डियाले दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल ब्ल्याकआउट गरेको छ।
भारतीय नागरिक उड्डयन कार्यालयको मौसम पूर्वानुमान शाखाका अनुसार त्यो समय आकाशमा कालो बादलधरि लागेको थिएन। र, ठूलो हावाहुरीको पनि कुनै सम्भावना थिएन।
यसका बाबजुद विमानस्थलको धावनमार्ग छाडेको ५ मिनेटमै बोइङ–७८७–८ ड्रिमलाइनर जहाज किन आकाशमा अडिइरहन सकेन र त्यो जमिनतिर हुर्रियो भन्नेमा धेरैको चासो छ।
बिबिसीका अनुसार यो जहाजले उड्नेबित्तिकै एयरट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर आपतकालीन सूचना (मे–डे कल) दिएको थियो। लगत्तै जहाजको सम्पर्क विच्छेद भयो। एयरट्राफिक कन्ट्रोलले सोध्दा पनि जबाफ फर्काएन।
बिबिसीले फ्लाइट राडारलाई उद्धृत गर्दै लेखेको छ, 'जहाज धावनमार्ग छाडेर जमिनको सतहभन्दा ६२५ फिट माथि हुँदा सम्पर्क विच्छेद भएको थियो।'