भारतको हैदरावादमा लिभिङ टुगेदरमा बसेकी एक जना महिलाको हत्या गरेको आरोपमा नेपाली पुरूष पक्राउ परेका छन्।
जुन ४मा हैदरावादको बचुपल्लीस्थित आवासीय क्षेत्रमा एउटा झोला फेला परेको थियो। उक्त झोलामा ३३ वर्षीया तारा बोहराको शव फेला परेको भारतीय अनलाइन पत्रिका इन्डिया टुडेले जनाएको छ।
उनको हत्या आरोपमा लिभिङ टुगेदरमा रूपमा बस्दै आएका उनका प्रेमी विल्सन नामक विजय थापा पक्राउ परेका हुन्। उनी एक लोकल रेस्टुरेन्टमा सेफ थिए।
प्रहरीको अनुसन्धानले विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थियो। पछि उनीहरू लिभिङ टुगेदरको रूपमा बस्न थालेका थिए।
तारा विवाहित थिइन्। दुई बच्चाकी आमा भएकी उनी अप्रिल १५मा विजयसँग बोराम्पेटमा एक घर भाडामा लिएर बस्दै आएका थिइन्।
मे २३ मा उनीहरू दुई जनाबीच झगडा भएको प्रहरीले जनाएको छ। तारा गर्भवती भएको विषयलाई लिएर सुरू भएको झगडा हत्यासम्म पुगेको इन्डिया टुडेले समाचारमा लेखेको छ।
विजयले तारालाई नाइलनको धागोले घाँटी कसेर हत्या गरेको आरोप छ।
त्यसपछि शव ब्यागमा राखेर बचुपल्लीस्थित आवासीय क्षेत्रमा लगेर फ्याँकेका थिए।
स्थानीय सुरक्षागार्डले शव फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले सिसिटिभी फुटेजको मद्दतबाट आरोपी विजयसम्म पुगेको थियो। विजयले सोधपुछको क्रममा हत्या गरेको स्विकारेका छन्।