कैलालीमा चोरी मुद्दामा पटकपटक कैद भुक्तान गरेका किशोरसहित चार जना पक्राउ परेका छन्।
प्रहरीले विभिन्न ठाउँबाट आठ वटा चोरिएका मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
घोडाघोडी नगरपालिका-२ साडेपानी बस्ने २२ वर्षीय मदन सार्की, वडा १ लोहारपुरका १४ वर्षीय किशोर, सुखडबजारमा प्रकाश अटो वर्कसपमा काम गर्ने २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुर बस्ने १४ वर्षीय किशोर पक्राउ परेका हुन्।
मदन सार्की पहिले दुई पटकसम्म चोरी मुद्दामा कैद भुक्तान गरी छुटिसकेका छन्।
लोहारपुरका १४ वर्षीय किशोर पनि यसअघि एक पटक कैद भुक्तान गरी छुटिसकेका व्यक्ति हुन्।
त्यसैगरी प्रकाश अटो वर्कसपमा काम गर्ने चौधरीले चोरीका मोटरसाइकल सस्तोमा किनेर महंगोमा बेचेर नाफा लिने गरेको डिएसपी सिंहले बताए।
चोरीका घटना भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुखडबाट डिएसपी रमेश दत्त अवस्थीको नेतृत्वमा टोली खटिएको थियो।
उक्त टोलीले लोहारपुर र घोडाघोडीको जंगलबाट आठ वटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
चारै जनालाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।