मोरङको कटहरीमा २ सय शय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ।
मोरङ–५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा संघीय संसदमा निर्वाचित योगेन्द्र मण्डलकै अगुवाइमा २०५४ सालमा कटहरीमा जीवन विकास समाज नामक गैरनाफामूलक संस्था स्थापना भएको थियो।
सो संस्थाले यसअघि सामुदायिक क्लिनिक सञ्चालन गरिरहेको थियो।
एक सातायता सामुदायिक अस्पताल नै सञ्चालन सुरू भएको हो।
जेठ २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जीवन विकास सामुदायिक अस्पताल’ को औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको मण्डलले जानकारी दिए।
२० बिघा क्षेत्रफलभित्र पाँच तले भवनमा अस्पतालका सबैजसो सेवा सुरू भएको सांसद मण्डलले जानकारी दिए।
अहिले नि:शुल्क ओपिडी (बहिरङ सेवा) सहित उपचार सेवा जारी रहेको जानकारी दिँदै मण्डलले अस्पताल पनि गैरनाफामूलक शैलीबाटै चल्ने बताए।
जीवन विकास समाजले यसअघि लघुवित्त, सामुदायिक विद्यालय पनि सञ्चालन गरिरहेको छ। सोही संस्थाको नेतृत्वमा अस्पताल निर्माण भएको हो।
‘आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरिएको छ, स्वास्थ्य सेवा प्रवाह मात्र नभएर नयाँ सामाजिक अभियानको थालनीका रूपमा अस्पताल सञ्चालन गरिएको हो,’ उनले भने, ‘सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा न्यूनतम शुल्कमा प्रवाह गर्ने हाम्रो उद्देश्य पूरा हुन लागेको छ।’
उनका अनुसार जीवन विकास समाजको १ अर्ब ६० करोड र माछापुच्छ्रे बैंकबाट ४० करोड ऋण सहितको लगानी जुटाएर २ अर्ब लागतमा अस्पताल तयार भएको हो।
भविष्यमा मेडिकल कलेज समेतको सञ्चालनको तयारीका साथ अस्पताल निर्माण गरिएको अध्यक्ष मण्डलले जानकारी दिए।
अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीबाट सेवा प्रवाह हुने अस्पतालको भनाइ छ।
मुनाफा वितरण नगर्ने अस्पतालको रूपमा एकै पटक ठूलो लगानीमा नेपालमै पहिलो मोडेलमा यो सामुदायिक अस्पताल निर्माण भएको अस्पताल प्रशासनको दाबी छ।
डिजिटल एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान लगायतका आधुनिक उपकरणको सहयोगबाट आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा दुरबिनबाट सबै किसिमको अपरेसन सेवा, बालरोग, डाइलासिस, आइसियू, एनआइसियू, सीसीयू, एचडिसियू, पिआइसियू नर्सरी, सबै किसिमको ल्याब सेवा प्रदान गरिने जानकारी अस्पतालले दिएको छ।
अस्पतालमा नाक, कान, घाँटीको उपचार, आँखा जाँचलगायत उपचार सेवा पनि प्रदान गरिनेछ ।
अस्पतालले उपचारका लागि जाने सबैका लागि कम्तीमा १० प्रतिशत छुट दिने तयारी गरेको छ।
आइसियूका लागि २५, एनआइसियूमा ९, सिसियूमा १० शय्या रहेको अस्पतालले नेपाल र भारतका बिरामीलाई सेवा दिने उल्लेख गरेको छ।