बहुमूल्य यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेपछि पाल्पाको रिमिघा लेकलाई निषेधित क्षेत्र तोकिएको छ।
रम्घा गाउँपालिका वडा नं. ३ पिपलडाँडाको रिमिघा लेकमा बिरुवा लगाउन गएका स्थानीयले खाडल खन्दा आइतबार यार्सागुम्बा जस्तै देखिने जडीबुटी फेला पारेका थिए।
यसअघि कहिल्यै फेला नपरेको र अत्यन्त बहुमूल्य मानिने यार्सागुम्बाकै आकार र प्रकृतिमा फेला परेको जडीबुटीलाई संकलन गरी परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाउने तयारी गरिएको हो।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रिमिघा सामुदायिक वन क्षेत्रमा बिरुवा लगाउन खाडल खन्ने क्रममा स्थानीयले यार्सागुम्बा जस्तै देखिने जडीबुटी फेला पारेपछि त्यसलाई परीक्षणको लागि प्रयोगशाला पठाउने तयारी गरिएको जानकारी दिए।

‘सोमबार यातायातका साधन नचलेकोले पठाउन सकिएको छैन, सवारी साधन सञ्चालन हुने बित्तिकै भेटिएका जडीबुटीलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँछौं,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने।
गाउँपालिका अध्यक्ष भण्डारीले अहिले उक्त वन क्षेत्रलाई निषेधित क्षेत्र तोकेर सर्वसाधारणको प्रवेशलाई रोक लगाइएको जानकारी दिए। गाउँपालिका र जिल्ला वन कार्यालयले सूचना नै गरेर सामुदायिक वनको करिब ७ हजार रोपनी क्षेत्रमा प्रवेश निषेध गरिएको भण्डारीले बताए।
हरियाली वन सहितको रिमिघा लेकलाई गाउँपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्ने भन्दै विभिन्न संरचनाहरू निर्माण गरिरहेको छ। सोही लेकको पोस पाखा सामुदायिक वन क्षेत्रमा स्थानीयले सुन्तलाको बोट लगाउन खाडल खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने जडीबुटी फेला पारेका हुन्।
हिमाली तथा उच्च पहाडी भेगमा हिउँद सकिएपछि पुतलीले फुल पार्न थाल्छन्। तिनै पुतलीले पारेका फुल लार्भा अवस्थामा जमिनमुनी पुगेपछि त्यसैमा ढुसी उम्रिएर यार्सागुम्बा बन्छ।
समुन्द्र सतहदेखि ३ हजार ८ सय मिटर देखी ४ हजार ८ सय मिटर सम्म उचाइमा पाइने यार्सागुम्बा जमिनमाथि खैरो र जमिन मुनि पंहेलो रङको हुन्छ। पाल्पाको रिमिघा लेक समुन्द्र सतहदेखि १ हजार ८ सय मिटरको उचाइमा रहेको छ। यहाँ फेला परेको जडीबुटीको रङ, आकार र साइज समेत यार्सागुम्बा जस्तो रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
‘अहिले आँखाले देख्दा यार्सागुम्बा जस्तै देखिएको छ तर, यार्सागुम्बा हो कि होइन भन्ने कुरा प्रयोगशालामा परीक्षण गरेपछि मात्र थाहा होला,’ उनले भने।