कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैंकको टोलीले अनुसन्धान गरिरहेको छ।
बैंकको दुई अर्ब ५० करोड हिनामिना गरेको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेसँगै सिआइबी र राष्ट्र बैंकको टोली नेपालगञ्जमै पुगेर अनुसन्धान गरिसकेको छ।
ब्युरोका एसएसपी होबिन्द्र बोगटीका अनुसार डिएसपीको कमाण्डमा चार जनाको टोली नेपालगञ्जमा खटिएको छ।
‘डिएसपीको कमाण्डमा चार जनाको टोली गइसकेको छ। नेपालगञ्जमै बेस बनाएर अनुसन्धान भइरहेको छ। राष्ट्र बैंककै कर्मचारीहरू पनि खटिनुभएको छ,’ उनले भने।
प्रहरीले आपराधिक र बैंकका कर्मचारीले कारोबारको पाटो हेरिरहेको छ।
सिआइबीका प्रवक्ता एवं एसपी युवराज खड्काले दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा ६५ वर्षीय रायलाई रूपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको जानकारी दिए।
यद्यपि स्रोतका अनुसार उनी भारतको लखनऊमा पक्राउ परेका हुन्। नेपालमा अनुसन्धान हुन थालेपछि उनी भारत भागेका थिए।
एसपी खड्काका अनुसार रायविरूद्ध नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न गत वर्ष माघ ४ गते पत्राचार गरेको थियो। माघ ६ गतेदेखि बैंकिङ कसुरमा सिआइबीले आधिकारिक रूपमा अनुसन्धान अघि बढाएको थियो। राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गर्नेगर्छ।
नेपाल राष्ट्र बैंकले रायमाथि अनुसन्धान गरिरहेको भन्ने थाहा पाउनुअघि नै उनी भारतमा भागेको एसएसपी होबिन्द्र बोगटीले बताए।
‘राष्ट्र बैंकले अनुसन्धान गर्नु १५ दिन अघि नै उनी भारत भागिसकेका थिए,’ उनले भने। त्यसयता उनी त्यहीँ बस्दै आएका थिए।
सिआइबीले लामो समय अनुसन्धान गरी रायलाई पक्राउ गरेको हो।
सिआइबीमा रायविरूद्ध पीडितहरूले मात्रै २ अर्ब ५९ करोडको जाहेरी दिइसकेका छन्। उक्त बैंकमा चार अर्ब ९० करोडको बचत रहेको खुलेको छ। यद्यपि पीडितहरूको जाहेरी आउनेक्रम जारी नै रहेको हुँदा अझै पनि रकम बढ्न सक्ने प्रहरीको भनाइ छ।
उनीमाथि अनुसन्धान गरेपछि अन्य व्यक्तिहरूको पनि संलग्नता खुल्ने प्रहरीले जनाएको छ। ‘अहिले प्रमुख व्यक्तिमाथि अनुसन्धान सुरू भएको छ। उनीमाथि अनुसन्धान गरी बयान गरेपछि अन्य व्यक्तिहरूको संलग्नता खुल्नेछ,’ उनले भने।
अहिले पक्राउ परेका रायले त्यति धेरै रकम कहाँ खर्च गरे भन्ने खुलिसकेको छैन। तर उनको राजनीतिक पृष्ठभूमि रहेकाले चुनावी खर्चमा गरेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।
‘यहीँ खर्च भएको भन्ने अहिले खुलिसकेको त छैन। नेता पनि रहेको हुनाले चुनावमा वा अन्य कतै खर्च गरेको हुनसक्छ,’ उनले भने।
सल्यानको शारदा नगरपालिका-२ का उनको राजनीतिक पृष्ठभूमि पनि देखिएको छ।
नेपालगञ्जको बिपी चोकमा उनले ‘रारा कम्प्युटर इन्स्टिच्युट’ खोलेका थिए। त्यस्तै ‘रारा कापी उद्योग’ पनि उनकै हो।
काठमाडौंको पुल्चोकमा रारा इम्प्लोइमेन्ट नामको म्यानपावर कम्पनी खोलेका थिए तर कालोसूचीमा परेपछि बन्द भएको थियो।
राय भेरी र बागेश्वरी विकास बैंकमा पनि शेयर सदस्य थिए। रायकै नेतृत्वमा २०६० सालमा मध्यपश्चिमकै पहिलो विकास बैंक कर्णाली विकास बैंक स्थापना भएको थियो।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बस्दै आएका राय २०७६ देखि २०७९ सम्म उक्त बैंकको सिइओका रूपमा कार्यरत थिए।
राजनीतिक रूपमा २०६० पछि नेपाली कांग्रेस बाहेक अन्य सबै पार्टीमा प्रवेश गरिसकेका छन्।
उनी २०६० सालतिरै राजा ज्ञानेन्द्र शाहको प्रत्यक्षशासन कालमा दरबारको नजिक रहेको स्रोतले बतायो।
२०६२/०६३ सालपछि राय तमलोपा पार्टीमा प्रवेश गरेका थिए। समानुपातिक सूचीमा राखिएका उनी सांसद भने बन्न सकेनन्।
२०६७/०६८ मा उक्त पार्टी छोडेपछि केही समय निष्क्रिय जस्तै बसेका राय २०७० मा कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय सहमहामन्त्री बनेका थिए।
त्यस्तै रायले २०७२ सालमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
२०७६ सालमा उनी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा प्रवेश गरेका थिए।
तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा छोडेर उनी फेरि कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष बनेका थिए।
त्यही बेला सल्यानमा राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि बनेका थिए। तर पराजित भए।
राप्रपमा पनि उनी त्यसपछि टिकेनन्।
२०७९ सालको निर्वाचनको मुखमा उनी एमाले प्रवेश गरे। फेरि राय सल्यानबाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बने। जतिखेर नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला निर्वाचित भएका थिए।
त्यो निर्वाचनपछि तत्कालै रायले एमाले पनि त्यागेका थिए। त्यसपछि उनी एलिजा गौतमसँगै भैरहवामा २०७९ माघतिर भएको कार्यक्रममार्फत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।
त्यसपछि उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका थिए। जुन चुनावमा रोल्पाबाट प्रतिनिधित्व गर्ने एमालेका कुमार दसौंदी निर्वाचित भएका थिए।
२०८० मा उनलाई रुकुमबाट प्रतिनिधित्व गर्ने तत्कालीन खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले माओवादीमा प्रवेश गराएका थिए। राय २०८० यता माओवादी केन्द्रमै छन्।
यो पनि:
अर्काको घरमा मजदुरी गर्ने डम्मरले जब थाहा पाए ५० लाख ऋण लागेको कुरा...