मुटु र मिर्गौला शरीरका अत्यन्त जरूरी अंग हुन्। हुन त हरेक अंगका आफ्नै महत्व हुन्छन्। मिर्गौला र मुटु आपसमा कसरी जोडिएका हुन्छन् भने मुटु रोग लागेको व्यक्तिलाई मिर्गौला रोग लाग्ने जोखिम बढ्छ।
उदाहरणको लागि मुटुले राम्रोसँग पम्प गर्न नसकेको बिरामीमध्ये ४० देखि ६० प्रतिशतलाई मिर्गौला रोगको जोखिम हुन्छ। अर्थात् 'हार्ट फेलियर' भएका २ बिरामीमध्ये १ जनालाई मिर्गौलाको रोग लाग्छ। त्यस्तै ४०/५० नाघेका मिर्गौलाका बिरामीको मृत्युको मुख्य कारण नै मुटुजन्य रोग हुन्छ।अर्थात् मिर्गौला रोग र मुटु रोग आइसोलेसनमा हुँदैन।
मुटुबाट रगत निस्किने जुन मात्रा छ त्यसको २५ प्रतिशत मिर्गौलामा जान्छ। मिर्गौलाले शरीरमा उत्पन्न भएका सबै खाले विकार तत्वहरू, नुन पानी, अम्लपनलाई प्रशोधन गरेर मुटुलाई काम गर्न सजिलो बनाउँछ। त्यस्तै दिमागलाई काम गर्न पनि सजिलो बनाउँछ।
मुटुजन्य रोग र मिर्गौलाजन्य रोगको कारण एउटै छ। उदाहरणको लागि मुटु मिर्गौला दुवैलाई बिगार्ने एक नम्बरमा कारक तत्व मधुमेह र उच्च रक्तचाप हो। त्यस्तै मोटोपना, धूमपान, शारीरिक परिश्रमको कमी अनि खानपिनको लापरबाहीले समेत यी रोग लाग्न सक्छ। यी सबै कारणले मुटु, मिर्गौला रोगको जोखिम पैदा हुन्छ।
त्यसैले हामीले आम जनमानसमा 'मुटु, मिर्गौला दाजुभाइ एकको चोट अर्कोलाई, जरूरी छ प्राणलाई, बचाइराखौं दुबैलाई' भन्ने श्लोगन बनाएका छौं। जसले यी दुवैको महत्वलाई स्पष्ट पार्छ।
मुटु र मिर्गौला बचाउने कुरा गर्दैगर्दा यसलाई कसरी बचाउने भनेर जिज्ञासा आउँछ। एउटा त तपाईंहरूले भन्दै आएको रोग लाग्न नदिन स्वस्थ जीवनशैली अपनाउने भन्ने हो तर रोग लागिहाल्यो भने कसरी गर्ने त?
मिर्गौला र मुटु रोगबाट बच्नका लागि हामीले अर्को श्लोगन समेत बनाएका छौं।
ए, बि, सी, डि, ई जँचाऔं, मुटु मिर्गौला बचाऔं भनेर।
'ए' भनेको पिसाबमा जाने एल्बुमिन अर्थात् एक किसिमको प्रोटिनको मात्रा हो। साधारण परीक्षणबाट यसको पत्ता लगाउन सकिन्छ। जसले मिर्गौलामा समस्या भए/नभएको थाहा दिन्छ।
'बि' भनेको ब्लड प्रेसरको परीक्षण हो। मुटु र मिर्गौलाजन्य रोगको प्रमुख कारक ब्लड प्रेसर हो। त्यसैले समय/समयमा यसको परीक्षण जरूरी छ।
'सी' भनेको कोलस्ट्रोल हो। मुटुजन्य रोगको प्रमुख कारक कोलस्ट्रोल हो। यसको परीक्षणले पनि मुटु/मिर्गौला रोगबाट बचाउन सक्छ।
'सी' भनेको क्रिएटिनिन हो। मिर्गौला ५० प्रतिशत बिग्रिन थाल्यो भने क्रिएटिनिन बढ्न थाल्छ।
'डि' भनेको डायबेटिजको परीक्षण गर्ने हो। यसले मुटु/मिर्गौलालाई बिगार्न सक्ने भएकाले परीक्षण जरूरी छ।
'ई' भनेको मिर्गौलाको शुद्धीकरणको परीक्षण हो। जसलाई हामी डाक्टरी भाषामा 'इजिएफआर' भन्छौं।
तपाईंहरूले बुझ्नको लागि मुटुले रगत पम्प गर्छ। त्यही रगत शरीरमा जान्छ। मुटुले राम्रोसँग पम्प गर्न नसके धमनीलाई रगत पुग्दैन।
मिर्गौला बिग्रियो भने सबै विकार तत्व थुप्रिएर बस्छ। त्यसले मुटु बिगार्ने, हड्डीमा असर गर्ने, रक्तअल्पता हुने लगायतका समस्या देखिन्छन्। त्यही भएर यी दुई अंग एक आपसमा जोडिएका छन्।
हामीले अनुसन्धान गर्दा २ तरिकाले गर्छौं। एउटा समुदायमा गएर अनि अर्को अस्पतालमा गर्छौं।
पहिला सामुदायिक अनुसन्धानको कुरा गर्न चाहेँ।
मिर्गौला र मुटु रोग किन भयावह छन्, किन मान्छेहरू अन्तिम अवस्थामा मात्र आइपुग्छन्? भनेर बुझ्न जरूरी छ।
मिर्गौला बिग्रिएको सुरूआती अवस्थामा धेरैलाई थाहा नै हुँदैन।
मुटु फेल हुनुअघि उसलाई धेरै खालका समस्या देखिएको हुन्छ। मुटुले आफूलाई चलाउन अनेक प्रयास गर्छ। अन्तिममा मात्र उसले थाके भनेर भन्छ। मुटुलाई काम गर्न अक्सिजन चाहिन्छ। त्यो पुर्याउन पानीको धारा जस्तो मुटुका नलीमा रगत बग्न पर्छ। कोलस्ट्रोल जमेर तिनीहरू ब्लक हुन्छन्। त्यो ब्लक बढ्दै गएर ७०/८० प्रतिशत हुँदा पनि केही समस्या नहुन सक्छ। कुनै दिन त्यो नली फुट्यो भने हृदयघात हुने हुन्छ। त्यसैले यसको जोखिम पत्ता लगाउन सुरूमै सचेतना अपनाउन जरूरी छ।
समुदायमा जाँदा हामीले के देख्यौं भने उच्च रक्तचापको समस्या भयावह छ।
२० वर्षदेखि नै यसको समस्या देखिन थालेको छ। ३/४ जनालाई परीक्षण गराउँदा १ जनामा यो समस्या भेटिन्छ। कहिलेकाहीँ त स्कुले बच्चालाई समेत भेटिएको छ। उमेर अनुसार रोग देखिने मात्र कम होला तर देखिएको छ।
मधुमेहको अवस्था पनि त्यस्तै छ। ५० प्रतिशतभन्दा धेरै बिरामीले 'मलाई उच्च रक्तचाप र मधुमेह छ' भन्ने नै थाहा छैन। जसलाई थाहा छ उहाँहरूमध्ये कतिले औषधि लिनुहुन्न।
मधुमेह र उच्च रक्तचाप सुरूमै थाहा भने यसको उपचार सम्भव छ। नियन्त्रणमा राखिएन भने यसले अरू अंग बिगार्छ।
९० प्रतिशतभन्दा धेरैलाई आफूलाई मिर्गौला रोग लागेको थाहा हुँदैन। साधारण भाषामा भन्ने हो भने पिसाबमा एल्बोमिन देखियो भने मिर्गौला रोग लागेको थाहा हुन्छ। तर यसको परीक्षण गर्नुपर्छ भनेर धेरैलाई थाहा छैन।
सुरूमा परीक्षण गरेर समस्या देखियो भने औषधि खाएर निको पार्न सकिन्छ। तर लक्षण नहुने भएकाले हामी परीक्षण गर्दैनौं।
त्यसैले मुटु/मिर्गौला रोगबाट बच्नको लागि सबैभन्दा ठूलो कुरा जनचेतना नै हो। जनचेतना भयो भने समय/समयमा परीक्षण गर्ने अनि रोग लागेपछि औषधि खाने बानी हुन्छ। जसले गर्दा यसले दीर्घकालमा पार्न सक्ने असर पनि कम हुन्छ।
(बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर, मुटु, मिर्गौला र सर्पदंश विज्ञ प्रा.डा. सञ्जीव शर्मासँग सेतोपाटीका सन्जिब बगालेले कुराकानी गरेका हुन्।)