काठमाडौंबाट बाहिरिने प्रमुख नाका नागढुंगादेखि नौबिसेसम्म सवारी जाम भएको छ।
विभिन्न कारणले सडकमा अवरोध पुगेपछि बिहीबार बिहान साढे १० बजेसम्म सडक दुवैतर्फ सञ्चालनमा छ।
तर सवारी साधन विस्तारै चलिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी दीपक गिरीले जानकारी दिए।
‘बिहान दुईतीन घण्टा सडकमा डिस्टर्ब भयो। त्यसकारण अहिले पनि जाम भएको हो। सवारीसाधन क्युमा चलिरहेका छन्,’ उनले भने, ‘सहजीकरण गर्ने काम भइरहेको छ।’
उनका अनुसार नागढुंगा नौबिसे सडकखण्डमा बस दुर्घटनामा परेको थियो।
गुडिरहेको बस ब्याक भएर नालीमा खसेको थियो। दुर्घटनामा परी तीन जना घाइते भएका थिए। जसमध्ये एक जना गम्भीर रहेको एसपी गिरीले बताए। उनको काठमाडौंस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
‘गाडी क्रेनले हटाउनुपर्ने भयो। त्यसकारण पनि समय लागेर जाम भयो,’ उनले भने, ‘कतिपय ठाउँमा बाटो पनि बनाउने काम भइरहेको हुँदा पनि समस्या भएको हो।’
गए राति धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलनजिकै सडकमा फेरि भ्वाङ परेको थियो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले सडकमा पुन: भ्वाङ पर्दा गए राति पनि जाम भएको बताए।
‘हिजो फेरि सडकमा भ्वाङ पर्यो तर राति नै त्यहाँ बाटो बनाएर सडक सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘आज फेरि सडकमा मर्मतको काम भइरहेकाले बाटो जाम भएको हो।’
सोताङ खोलाको पुलनजिकै मंगलबार बिहान पनि भ्वाङ परेको थियो। त्यसपछि डाइभर्जन बनाएर सडक सञ्जालनमा ल्याइएको थियो।