चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले मांसपेशीहरू कमजोर बन्ने रोग 'मायस्थेनिया ग्राभिस' का बिरामीको नयाँ प्रविधिबाट शल्यक्रिया गरेका छन्।
शरीरको प्रतिरोधात्मक प्रणालीका लागि आवश्यक पर्ने तत्वहरूलाई असर गरेर मांसपेशीलाई कमजोर बनाउने रोग मायस्थेनिया ग्राभिस हो। यो रोगले मान्छेमा अस्वाभाविक रूपमा थकाइ लाग्ने, निद्रा लागिरहने, आँखा सिधा हेर्न नसक्ने जस्ता समस्या बढ्छ।
फोक्सो र मुटुको बीचमा हुने 'थाइमस' नामको अंगको कारणले यो समस्या हुने भएकाले उपचारका लागि शल्यक्रिया गरेर त्यो अंग निकाल्ने गरिएको छ।
यो समस्या लिएर क्यान्सर अस्पताल भरतपुर आइपुगेकी दाङकी २२ वर्षीया युवतीको वरिष्ठ अंलोजिस्ट, थेरासिस एन्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको स्वास्थ्यकर्मीहरूको समूहले नयाँ प्रविधि प्रयोग गरी शल्यक्रिया गरेको हो।
नाकबाट अक्सिजन, सलाइनबाट बेहोस बनाउने औषधि दिएर पेटमा एउटा प्वाल बनाई दुरबिनमार्फत शल्यक्रिया गरिएको डा. ठाकुरले जानकारी दिए।
'सामान्यतया यसअघि यस्ता बिरामीको शल्यक्रिया श्वास नलीबाट पाइप घुसाएर बेहोस बनाएर गरिन्थ्यो। त्यसो गर्दा मांसपेशीका बिरामीलाई थप असर पर्ने सम्भावना हुन्थ्यो। अहिलेसम्म नेपालमा सबैले गर्ने यही विधिबाट हो। हामीले पहिलो पटक बिरामीलाई पनि सहज हुने, जोखिम कम हुने गरी बेहोस बनाएर अपरेसन गर्यौं,' डा. ठाकुरले भने।
डा. ठाकुरका अनुसार पहिले शल्यक्रिया छाती चिरेर नै गर्नुपर्थ्यो। पछि दुरबिन प्रयोग गरेर गर्न थालियो। विगतमा छातीमा तीन वटा प्वाल पारेर दुरबिनमार्फत शल्यकरिया गरिन्थ्यो। अहिले पहिलो पटक पेटमा एउटा मात्रै प्वाल पारेर दुरबिनमार्फत गरिएको उनले बताए।
'पेटमा तीन सेन्टिमिटरको एउटा प्वाल बनाएर दुरबिनमार्फत थाइमस निकाल्यौं। २ घण्टामा अपरेसन सकियो। त्यसपछि वार्डमा पठाइहालियो,' ठाकुरले भने, 'पहिले अपरेसन गर्न पनि समय लाग्थ्यो। त्यसपछि लामो समयसम्म भेन्टिलेटर, आइसियूमा राख्नुपर्थ्यो। मृत्युको जोखिम हुन्थ्यो। नयाँ प्रविधिको प्रयोगले बिरामीको समय, खर्च जोगियो। जोखिम पनि कम भयो।'
अस्पतालकी एनेस्थेसियोलजिस्ट डा. रश्मी थापाका अनुसार श्वासनलीबाट पाइप घुसाएर लठ्याउने विधिले मांसपेशी कमजोर भएका बिरामी थप कमजोर बन्ने र उठाउनै नसकिने खतरा थियो। श्वासप्रश्वासमा पनि असर गर्थ्यो। त्यसको विकल्पमा नयाँ विधिको सफल प्रयोग गरिएको थापाले बताइन्।
डा. ठाकुरका अनुसार यो रोग विश्वमा हरेक वर्ष एक लाख जनामा एक जनालाई देखिने गरेको तथ्यांक छ। पुराना बिरामी पनि गरेर एक लाखमा १५–२० जनामा यो समस्या देखिएको छ। धेरैजसो १५ देखि २० र ६० देखि ६५ वर्ष उमेर समूहलाई यो रोग देखिएको छ।

यस्ता बिरामीले शल्यक्रिया नगर्दा मासिक १५–२० हजार रूपैयाँको औषधि नियमित रूपमा खानुपर्छ। शल्यक्रिया गरेपछि औषधि खानै नपर्ने वा कम गराउँदै लैजान सकिने हुन्छ।
क्यान्सर अस्पतालमा दुई सय जना बिरामीको ट्युमरको शल्यक्रिया गर्दा ४० जनाको थाइमसको कारण समस्या भएको देखिएको उनले बताए।
जेठ ८ गते शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। भारतमा ज्याला मजदुरी गर्दै आएकी उनी सुरूमा उपचारका लागि काठमाडौं पुगेकी थिइन्।
'उताबाट यहाँ उपचार हुन्छ भनेर पठाइएछ। म केही महिनाअघि चीन घुम्न जाँदा नयाँ प्रविधिबाट बिरामी लठ्याएको, अपरेसन गरेको देखेको थिएँ। फर्किएपछि यहाँ पनि त्यस्तो गर्न सकिन्छ कि भनेर गोष्ठीहरू गर्यौं। आवश्यक सामग्रीहरू अस्पतालको व्यवस्थापनले मगाइदियो। त्यसपछि हामीले देशमै पहिलो पटक नयाँ प्रविधि प्रयोग गरेर उहाँको शल्यक्रिया गर्न सकियो,' डा. ठाकुरले भने, 'आगामी दिनमा हुने अपरेसनहरूमा पनि यो प्रविधि प्रयोग गर्नेछौं।'
अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले मायस्थेनिया ग्राभिसका बिरामीको शल्यक्रिया वर्षौंदेखि हुँदै आए पनि नयाँ प्रविधि प्रयोगमार्फत जोखिम र खर्च दुवै घटाउन सक्नु सुखद विषय भएको बताए।
नयाँ प्रविधि प्रयोगले बिरामीको खर्च ५० प्रतिशतभन्दा बढीले घट्ने उनले बताए।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालका लागि लामो समयदेखि सहयोग गर्दै आएको चिनियाँ टोलीसँग नयाँ प्रविधि तथा उपकरणहरू मागेर काम गरिएको बताए।
'हामीले यो अपरेसनका लागि मात्रै होइन, अन्य सबै विभागहरूका लागि आवश्यक पर्ने नयाँ प्रविधि तथा उपकरणहरू चिनियाँ टोलीसँग सहयोग मागेका छौं। हेर्दा साना सामग्री भए पनि ल्याएर प्रयोग गर्न सकिएको थिएन,' पौडेलले भने, 'सरकारले दिएको बजेट पनि फिर्ता मागिरहेको छ। हामीले भएको स्रोत, साधन, जनशक्ति प्रयोग गर्दै सेवा दिइरहेका छौं। काठमाडौंमा हुन नसकेका धेरै उपचारहरू गर्न सकेका छौं।'
यो शल्यक्रियामा डा. ठाकुर, डा. सागर खतिवडा, डा. मनोज तिवारी, डा. सची भट्टराई, रेसिडेन्ट डाक्टरहरू आषिश खरेल, डा. सन्दिप सापकोटा, एनेस्थेसियोलजिस्ट डा. रश्मी थापा लगायतको समूहले काम गरेको थियो।