'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग तीनकुने घटनाको अघिल्लो दिन भेटेको बयान दिएका छन्।
प्रसाईंसहित ६१ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको छ।
सरकारी वकिलले प्रसाईंमाथि राज्यविरूद्धको कसुर, ज्यान मार्न नहुने कसुर, ज्यान मार्ने उद्योगसम्बन्धी कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको छ।
अनुसन्धानको क्रममा प्रसाईंले सरकारी वकिलसँग बयान दिने क्रममा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन्।
‘म नेपालका राजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्दछु। शाहसँग मेरो सम्बन्ध राजा र जनताबीचको सम्बन्ध हो। शाहसँग मेरो विगत ५ वर्ष अगाडिदेखि पटक-पटक भेट भइरहेको छ। शाहसँग भेट गर्दा निजी सचिव मार्फत् भेटघाट हुने गरेको थिएँ,’ उनले बयानमा भनेका छन्।
प्रसाईंले यो नेताहरूबाट देश नचल्ने भएकाले शाहले नै चलाउनुपर्ने भन्दै चैत १४ गते पूर्वराजालाई भेट्न गएको बताएका हुन्।
‘यो नेताहरूबाट देश चल्दैन, तपाईं आफैं अएर देश चलाउनु पर्छ, हामी नेपालीहरूको अभिभावक हुनुपर्दछ। किनकि यो देश तपाईंको जिजु बडा महाराजधिराज श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहले आर्जेको देश भएकोले तपाईं पुन: आउनुपर्यो भनेर म पटकपटक भेट्न गएको हुँ। मैले शाहलाई चैत १४ गते निजी सचिव राजेश सिंहमार्फत निजकै निवास महाराजगञ्जमा रहेको निर्मल निवासमा भेट गरेको हुँ,’ बयानमा प्रसाईंले भनेका छन्।
तर पूर्वराजा शाहले भने प्रसाईंलाई आफूले भेट नगरेको राप्रपाका नेताहरूसँग लन्च मिटिङमा भनेका थिए।
त्यस्तै दुर्गा प्रसाईंले आफ्नो ज्यान जोगाउनका लागि तीनकुनेमा गाडी हुइँक्याएको पनि बयानमा भनेका छन्।
‘कार्यक्रम स्थलको वरपर रहेका घरको छतमा अपरिचित मानिसहरू हतियारसहित बसेको मैले देखेपछि मलाई मार्ने योजना बनाएको भन्ने कुरा मलाई लागेपछि म गाडीको पछाडिको डालाबाट हाम फाली गाडी चलाई रहेको ड्राइभरलाई बाहिर निकाली उक्त गाडीको ड्राइभरको सिटमा म आफै बसी म आफ्नो ज्यान जोगाउन सुरक्षाको लागी सबै जना आओ, आओ भन्दै आफू बाच्नको लागि कार्यक्रममा आएका अन्य मानिसहरूलाई समेत बचाउन भनी अरूलाई समेत बोलाई प्रहरीको घेराभित्र जाने भनी गाडी मैले चलाइ अगाडि बढाएको हुँ,’ उनले बयानमा भनेका छन्।
उनले आफूले गाडी चलाउँदा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई घाउचोट नलागेको बताएका हुन्। बरू उल्टै आफ्नो गाडीको सिसा फुटाएको बताएका छन्।
‘डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई घाउचोट हुने गरी गाडीले पेलेर लगेको छैन। बरू सो समयमा मेरो गाडी नै फुटाइएको छ,’ उनले भने, ‘म आफू सुरक्षित हुनको लागि मात्र हतार गरी प्रहरीको घेरा भित्र गएको हुँ।’
यो पनि:
तीनकुनेमा प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याए दुर्गा प्रसाईंले (भिडिओ)