उत्तर कोरियाले गत हप्ता उद्घाटन गर्दा युद्धपोत (नेभल डिस्ट्रोयर) बिग्रिएको मामलामा तीन वरिष्ठ अधिकारीलाई गिरफ्तार गरेको छ।
गत बुधबार पाँच हजार टनको सो नवनिर्मित युद्धपोत पूर्वी बन्दरगाह सहर चोङजिनमा उद्घाटनको क्रममा उत्तर कोरियाली तानाशाह किम जोङ-उनको आँखा अघि गम्भीर दुर्घटना भएको उत्तर कोरियाले जनाएको थियो। सो दुर्घटनामा युद्धपोतको तलका भाग कुच्चिएको थियो।
किमले सो दुर्घटनालाई पूर्ण लापरवाहीले भएको आपराधिक कार्य भनेका थिए। सो दुर्घटनाले देशको मर्यादामा हानि पुर्याएको भन्दै जिम्मेवार ठहरिएकालाई सजाय दिने घोषणा गरेका थिए।
त्यसै अनुसार सो दुर्घटनासँग सम्बन्धित तीन वरिष्ठ अधिकारीलाई गिरफ्तार गरिएको उत्तर कोरियाको सरकारी संचार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ।
हिरासतमा लिइएकाहरूमा चोङजिनको जहाज कारखानाका प्रमुख इन्जिनियर काङ जोङ चोल, जहाजको संरचना (हल) निर्माण कार्यशालाका प्रमुख हान क्योङ हाक, र प्रशासनिक मामिलाका उपप्रबन्धक किम योङ हाक हुन्। केसीएनएका अनुसार ती तीन जना दुर्घटनाको लागि जिम्मेवार हुन्।
जहाज कारखानाका प्रबन्धक होङ किल होलाई सोधपुछका लागि बोलाइएको समाचार शुक्रबार आएको थियो।
किमले जुनमा हुने सत्तारूढ पार्टीको बैठक अघि सो युद्धपोतको मर्मत गरिसक्न आदेश दिएका छन्। त्यसै अनुसार मर्मत कार्य भइरहेको केसिएनएले जनाएको छ।
युद्धपोतको पानीमुनि र आन्तरिक निरीक्षण पछि प्रारम्भिक घोषणामा जनाइए जस्तो जहाजमुनि कुनै प्वालहरू नभएको भन्दै केसीएनएले गम्भीर क्षतिको नभएको दावी गरेको छ।
भूउपग्रह तस्बिरहरूले सो युद्धपोतलाई नीलो त्रिपालले ढाकिएको र एकातिर ढल्किएको देखिएको भनेर अमेरिकी मिडियाले लेखेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)