केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ।
नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए।
छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘सम्पत्ति शुद्धीकरण सजाय निवारण ऐन २०६४ अनुसार उनको मुद्दा बाँकी नै रहेको हुँदा कैद भुक्तान गरिसकेर आएको हुँदा थप अनुसन्धान गर्न ल्याएका हौं,’ उनले भने।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइसकेको छ। उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले म्याद दिइसकेको छ।
२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। कतारबाट तीन जना पाकिस्तानी नागरिकलाई लिन जाँदा अन्सारी पक्राउ परेका थिए।
त्यसअघि पनि युनुस नक्कली नोट प्रकरणमै समातिएका थिए।
त्यतिबेला उनीमाथि कारागारभित्रै गोली प्रहार भएको थियो। तर उनी घाइते मात्रै भएका थिए।