'एक्सिलेन्ट रिपोर्ट! अब भोज खानुपर्छ!'
वैशाखको आखिरी शुक्रबार मध्यराततिर डा. अरूण शाहीले ह्वाट्स एपमा यस्तो सन्देश पठाएका रहेछन्।
बिहानीपख मोबाइल हेर्दा बाहिर झमझम झरी परेको हुँदो हो। सन्देश देख्नेबित्तिकै अचानक झरी थामिएर आकाशमा घामले पुलुक्क चिहायो।
एक घाम मात्रै झुल्कियो के भन्नू, सात सूर्य उदाएझैं भयो!
क्यान्सरले गाँज्दै लगेका बुबा गत फागुन मध्यदेखि डा. शाहीको सम्पर्कमा पुग्नुभएको थियो। त्यसअघि हामीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अंकोलोजी विभागमा बुबाको उपचार गराइरहेका थियौं।
त्यहाँका चिकित्सकले अवलम्बन गरेको विधि खर्चिलो तर भरपर्दो नलागेपछि हामी दोस्रो परामर्शको खोजीमा थियौं। त्यही क्रममा डा. शाहीसँग भेट भयो।
गत मंसिर तेस्रो साता बुबाको पित्तथैलीमा ट्युमर रहेको पत्ता लागेको थियो। ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारी सहितको समूहले तत्क्षण नै क्यान्सरको आशंका गरेका थिए। तुरून्तै शल्यक्रिया गर्दा जोखिम कम हुने आकलन उनीहरूको थियो।
चिकित्सकहरूको सल्लाह मुताबिक नै निदान भएको एक सातामै शल्यक्रिया गरेर पित्तथैली र कलेजको केही भागसमेत हटाइयो। तर बायोप्सी रिपोर्ट आउँदा हामी खङ्ग्रङ्ग भयौं। पिता–पुर्खा कसैले सामना गर्नु नपरेको क्षण हाम्रो भागमा पर्यो। 'प्राणघातक' रोगको आघात हामीलाई गहिरो गरी पर्ने नै भयो।
क्यान्सरका कोशिकाहरू रक्तनली वा लिम्फ नोड्समार्फत् कलेजोमा पुगिसकेका रहेछन्। चिकित्सकीय भाषामा यसलाई 'मेटास्टेसाइज' (फैलिएको) भनिँदो रहेछ। यस्तो अवस्थामा पुगेको क्यान्सरलाई चौथो स्टेजको संज्ञा दिइँदो रहेछ।
शरीरबाट क्यान्सर कोश निर्मुल गर्न नसकिने र अविच्छिन्न उपचारकै बलमा काबुमा राख्नुपर्ने हुँदा यो अवस्थामा पुगिसकेपछि कतिपय बिरामी र उनीहरूका आफन्तले हरेश खाँदा रहेछन्। आर्थिक अवस्था कमजोर भएका परिवारले एक किसिमले माया नै मार्दा रहेछन् र थप उपचारको प्रबन्धसमेत नगर्दा रहेछन्।
बायोप्सी रिपोर्ट थमाउँदै गर्दा चिकित्सकले शीघ्रातिशीघ्र केमोथेरापी सुरू गर्न सुझाएका थिए। तर शल्यक्रियाको घाउ निको नभएको र बीचबीचमा संक्रमण भएर दुःख दिइरहेकाले तत्काल केमो सुरू गर्न सम्भव भएको थिएन।
माघ दोस्रो सातातिर घाउ सुक्दै गइरहेको थियो। चिकित्सकले हामीलाई शल्यक्रियाबाट निकालिएको कोशिकालाई पुनः नेक्स्ट जेनेरेसन जेनेटिक सिक्वेन्सिङका लागि पठाउनुपर्छ भनेर सल्लाह दिए। उनीहरूकै सुझावअनुसार हामीले त्यो कोशिका निजी प्रयोगशालामार्फत् परीक्षणका लागि भारत पठायौं।
झन्डै एक महिना लगाएर रिपोर्ट आयो। त्यही रिपोर्टका आधारमा चिकित्सकले ओरल (मुखबाट खाने) औषधि सुरू गराएका थिए।
तर हामीलाई त्यति भरपर्दो लागेन।
त्यसपछि हामी डा. शाहीको सम्पर्कमा पुग्यौं। उनले भोलिपल्टै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आउन भनेका थिए।
हामी पाटन पुगेकै दिनबाट आइभीमार्फत् केमोको 'साइकल' सुरू भइहाल्यो।
बेलाबखत घाउ दुख्ने र रक्तचाप घटबढ भइरहनेबाहेक स्वास्थ्यमा अरू जटिलता देखिएको थिएन। शल्यक्रिया गरेदेखि नै वजन घटेकाले बुबाको शरीर छरितो पनि बनेको थियो।
डा. शाहीको ढाडस दिने र परामर्श गर्ने आत्मीय तरिकाले बिरामीको मनोबल क्षीण हुन पाएको थिएन। उनले पहिलो तीन महिनाको योजनाको प्रारूप तयार पारेका थिए। त्यहीअनुरूप साइकल सुरू भएको थियो।
पहिलो चरणको उपचारपछि सिटी स्क्यान गरेर मेटास्टेसाइजको अवस्था हेर्ने र त्यसपछि मात्रै अर्को चरणको उपचार सुरू गर्ने उनको योजना थियो।
बुबाको आत्मविश्वासले त्यसलाई स्वीकृति प्रदान गरेको थियो। सौभाग्यवश पहिलो चरणको केमोथेरापीपछिको सिटी स्क्यानको रिपोर्टमा मेटास्टेसाइजमा रोकावट मात्र होइन, शरीरमा क्यान्सरको कोशिका देखिएन।
पहिलो चरणको केमो रेस्पोन्स इभालुएसन (प्रतिक्रिया मूल्यांकन) पछिको खुसियालीमा नै डा. शाहीले भोज खानुपर्छ भनेका थिए।
सिटी स्क्यान रिपोर्ट उपलब्धिमूलक आएपछि डा. शाहीले केही महिनाका लागि बुबालाई 'केमोथेरापी होलिडे' मा राखेका छन्। यसले अकस्मात बेहोर्नुपरेको सकसबाट राहत मिलेको मात्र होइन, यसलाई हामीले 'चिकित्सकीय चमत्कार' कै उपमा दिएका छौं।
अर्को चरणको उपचार अब केही महिनापछि गरिने सिटी स्क्यानको अर्को रिपोर्टले तय गर्नेछ। यद्यपि बुबाको शारीरिक तन्दुरूस्तीमा कुनै कमी आएको छैन। उस्तै लयबद्ध छ, मनोबल।
पाटन स्वास्थ्य विज्ञानको साँघुरो उपचार कक्षले हामीलाई असाधारण भरोसा दिलाएको छ। बुवाको जिजीविषालाई बलियो तुल्याइदिएको छ।
अरूको मुखबाट अनुभव सुन्नु र आफै भोग्नु आकाशपातालकै फरक हुन्छ। देशको चिकित्सकीय सेवाप्रति भरोसा नलागेर छिमेक लगायत विदेशका महँगा अस्पतालमा उपचार गराउनेको लर्को नै लागेको छ। त्यहाँ पुगेर पनि हण्डरठक्कर खाएको, श्रीसम्पत्ति र प्रियजन गुमाएर बिल्लीबाठ भएको व्यथा हामीसँग अनगिन्ती छन्।
आफ्नै सुखद नतिजाको जगमा उभिएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी अंकोलोजी सेवा सुरू गर्यो भनेर चर्चा गर्नु झन् बढी सान्दर्भिक हुने र विषयवस्तु पनि कसिलो हुने ठानेर मैले यो लामो पृष्ठभूमि बाँधेको हुँ।
हाम्रो अनुभव बिरलाकोटीको चिकित्सकीय घटना हो। सबैलाई यस्तै नतिजा हात पर्छ भन्ने छैन। पाँच हजार केसमध्ये पाँच जना बिरामीको मात्र यस्तो सुखद नतिजा भेटिने स्वयं डा. शाहीले बताएका छन्।
पछिल्लो समय पाटन स्वास्थ्य विज्ञानको अंकोलोजीप्रति बिरामीहरूको भरोसा दिनानुदिन बढिरहेको छ। यही कारण अस्पतालमा क्यान्सरका बिरामीहरूको चाप पनि बढिरहेको छ।
यसले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ अंकोलोजीकै खाँचो महसुस गराएको छ। यसका पछाडि डा. शाहीकै सपना र जपतपले अहम् भूमिका खेलेको छ। एक जना व्यक्तिले देखेको सपनाले सिंगो संस्थालाई दिशानिर्देश गर्न र भरोसा बढाउन सक्दो रहेछ भन्ने बलियो झिल्को हो यो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अंकोलोजीलाई सुदृढ बनाउन लागिपरेका डा. शाहीले मध्यपश्चिमको कुनै कुनाबाट आफ्नो सपनाको उडान थालेका थिए। यहाँ हामी उनैको उडान र सपनाको गन्तव्यबारे चर्चा गर्नेछौं।

'यो दुःखको दुस्कर पहाड कसरी नाघ्ने?'
विक्रम सम्बत् २०४० को सुरूआती दशकतिरको कुरा हो।
डा. अरूण शाहीका हजुरबुबालाई जुम्लाको भारतीबाडाका फराकिला फाँटहरू साँघुरो लाग्न थाल्यो।
जुम्ला, खलंगासँगैको मनग्य आयस्ता हुने उर्वर गाउँ, वरिपरि डाँडाकाँडा र थुम्काथुम्कीले ढाकेको सुमनोहर उपत्यकामाथिको आकाश उनलाई सानो लाग्न थाल्यो। विकटताले घेरिएको थाप्लोमाथिको आकाशमा सन्तान र दरसन्तानले प्रगतिको उडान भर्न सक्दैनन् र घागडान मान्छे बन्न सक्दैनन् जस्तो महसुस भएपछि उनले बसाइँ सर्ने निधो गरे।
एउटा कालखण्डमा पुगेपछि मानिसलाई आफू हिँडिरहेको बाटो, डुबुल्की मारिरहेको खोलाको दह, नाचिरहेको आँगन, खाइखेली गरेको घरको मझेरी साँघुरो लाग्छ। अञ्जुली थापेर पानी खाने पँधरोले मात्र मानिसको प्यास मेटाउन सक्दैन। आफ्नै नाभी गाडिएको आँगन, रहर रोपिएका रछ्यान र बलेसीको भलमै मिसिएर पसिना सिञ्चित भएका फाँट–फगटा बिरानो बनाउँदै रहरको पखेटा फिँजाउँछ। सुखको खोजीमा संघर्षको अर्को गर्तमा पाइला राख्छ।
यो मानवीय सभ्यता, संस्कृति र चेतना निर्माण–विनिर्माणको द्योतक हो।
डा. शाहीको परिवारले पनि बर्दियाको बेग हान्यो।
त्योभन्दा अगाडि शाही परिवार मुगुबाट जुम्ला झरेका थिए। मुगुमै छँदा उनका हजुरबुबा गाउँका गन्यमान्य थिए। तिनताका गाउँका बडाहाकिम नै थिए। उनको ख्याति, कीर्ति टाढाटाढासम्म विस्तारित थियो। उनका हजुबुबासँग अक्षुण्ण रहेका केही किस्सा छन्।
मुगु–जुम्लाको स्याउसँग उनको हजुबुबाको परिचय गाँसिएको छ।
सन् १९३९ मा दोस्रो विश्वयुद्ध भयो। नेपाल विश्वयुद्धमा प्रत्यक्ष सामेल त थिएन तर नेपालका दुरदराजमा त्यसको परोक्ष लप्का आइपुगेको थियो। थुप्रैका सपना र जिन्दगी उजाडिएको थियो। त्यसका कारूणिक कथा छन्।
उनका हजुरबुबा नेपाली सेनामा कप्तान थिए। भारत त्यति बेला स्वतन्त्र भइसकेको थिएन। ब्रिटिसहरूको अधीनमा थियो। उनका हजुरबुबाको बेलायती सेनालाई नेपाली सेना तर्फबाट सहयोग गर्न खटाइएका थिए। त्यति बेला उनको पोस्टिङ कश्मिरमा थियो।
१९४५ मा विश्वयुद्ध सकियो। त्यसको केही समयपछि उनी गाउँ फर्किए। फर्किँदा उनले केही स्याउका बिरूवा ल्याएका थिए। त्यसपछि विस्तारित भएका र झाँगिएका स्याउका बिरूवा र फलले मुगु–जुम्लालाई नयाँ परिचयमा पुर्यायो।
'यो किम्बदन्तीका रूपमा अहिले पनि जुम्लामा सुन्न पाइन्छ। हाम्रो हजुरबुबा यो किम्बदन्तीका पात्र हुन्,' शाही अहिले सम्झन्छन्, 'तर कालान्तरमा हाम्रो पुर्खालाई आफैले हुर्काएको स्याउको स्वादले मात्र सन्तुष्ट तुल्याएन। नयाँ बाटोको खोजीमा मधेस झर्नुभयो।'
त्यसो त, उनका पिता पनि जुम्लामा प्रतिष्ठित नै थिए। २०४० सालकै दशकमा उनको पिता पनि जुम्लाको राष्ट्रिय वाणिज्य बैंकका खजाञ्ची थिए।
कायान्तरण समयको चक्र हो, बर्दिया उडान त्यसैको प्रक्रिया थियो।
डा. शाहीको परिवार बर्दियाको साबिक दौलतपुर गाउँ विकास समितिको झबही गाउँमा बसाइँ सरेको थियो। उखेलेर जहाँ रोप्यो त्यही ठाउँ अनुकूलित हुने रूख र मानिसको चरित्रमा समरूपता हुन्छ। शाही परिवारले दौलतपुरमा जरा गाड्दै गयो।
डा. शाहीकी आमा शिक्षक थिइन्। झबहीमा बुद्ध प्राथमिक विद्यालय थियो, तत्कालीन समयमा त्यहाँ आधारभूत तहसम्म मात्रै पठनपाठन हुन्थ्यो।
'मानिसहरूले घर पहिलो पाठशाला भन्छन्। आमालाई पहिलो गुरू मान्छन्। मेरो हकमा त यथार्थमै यस्तो भयो,' शाहीले भने।
उनले दुई वर्षसम्म मात्र पाए, आमाको शैक्षिक सान्निध्य! कारण, झबहीमा दुई कक्षासम्म मात्र पढाइ हुन्थ्यो। थप अध्ययनका लागि उनी सोनपुर जानुपर्ने भयो।
घरायसी वातावरण शैक्षिक सिकाइका लागि अनुकूलित थियो। सन्ततिले उचित शिक्षादीक्षा पाउँछन् र नवीन बाटो पहिल्याउँछन् भनेर नै शाही परिवारले पुस्तैनी थातथलो छाडेर बर्दिया रोजेको थियो।
उचित शैक्षिक शुश्रूषा पाएकाले उनको जग दर्बिलो बन्दै गयो। कक्षामा अब्ल ठहरिँदै गए। सिकाइमा निपुण बन्दै गए।
चालीस दशकको मध्यसम्म दक्षिणी बर्दियाको सामाजिक, आर्थिक चेतना उकासिन सकेको थिएन। कुनै बेलाको गुलजार सहर राजापुर, जसलाई अन्न भण्डारको उपमा दिइन्थ्यो, त्यसले पुरानो व्यापारिक गौंडोको परिचय गुमाउँदै थियो। अन्यत्र व्यापारिक थलो विकास हुँदै गएपछि राजापुर आफ्नो लयबाट विचलित देखिन्थ्यो।
रैथाने थारू समुदाय दीनहिनकै अवस्थामा थियो। थारू समुदायका बालबच्चाको पहुँचमा विद्यालय थिएन। भए पनि न्यून आर्थिक अवस्थाका कारण उनीहरू समाजको पिँधमै रहनुपर्ने अभिशप्त अवस्था थियो।
'हामीले त सौभाग्य नै भन्नुपर्छ, विद्यालय जाने अवसर पाएका थियौं। पारिवारिक वातावरण पनि शैक्षिक नै थियो। आफ्नो आँखाअगाडिका दृश्यले पनि पढ्न प्रेरित गर्यो,' शाहीले सुनाए।
पाँच कक्षापछि उनको जीवनको लय बदलियो। सोनपुर छाडेर उनी टीकापुर जानुपर्ने भयो।
तिनताक सोनपुरमा माध्यमिक विद्यालय थिएन। त्यसैले शैक्षिक चाहना पूरा गर्न कर्णालीको पश्चिमी भँगालो तरेर टीकापुर जानुपर्ने बाध्यता थियो। त्यति बेला टीकापुर व्यवस्थित बसोबासको मात्र नमूना थिएन, शैक्षिक यात्रामा पनि आयाम थप्दै थियो।
खड्गबहादुर सिंहलाई टीकापुरको परिकल्पनाकार मानिन्छ। उनैको योगदान जीवन्त राख्न खड्ग स्मृति माध्यमिक विद्यालय स्थापना गरिएको थियो। दक्षिणपश्चिम बर्दियादेखि दक्षिणपूर्वी कैलालीसम्मका विद्यार्थीको शैक्षिक गन्तव्य त्यही थियो।
खड्ग स्मृति स्कुलमा दक्षिणी भारत केरलाबाट आएका शिक्षकले पठनपाठन गर्थे। ती केरेलियन शिक्षक तिनै हुन्, जसले गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालय (पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पढेको विद्यालय) समेत पढाएका थिए। त्यहाँका शिक्षक कोही पोखराका गण्डकी बोर्डिङ स्कुल प्रसारित भएका थिए, कोही टीकापुरसम्म पुगेका थिए।
खड्ग स्मृतिको शिक्षण सिकाइमा केरेलियनहरू मिसिएपछि अझ सिर्जनात्मक र रचनात्मक बनेको डा. शाहीको बुझाइ छ। तथापि तिनताक पनि पाठ्यपुस्तक र शिक्षण सिकाइमा एकरूपता नहुँदा काठमाडौंसँग त्यहाँको शिक्षाले प्रतिस्पर्धा गर्न भने कठिन नै भएको उनले सुनाए।
२०५७ सालमा उनले एसएलसी परीक्षाको खुड्किलो चढेका हुन्। त्यति बेलासम्म उनको मथिंगलमा चिकित्सकीय सपना अंकुराइसकेको थिएन।
'मूलबाटोबाट भित्री गाउँ, देहातमा हुर्किएको मान्छे चिकित्सक बन्ने सपना देख्न त मुस्किल नै हुन्छ,' उनले भने, 'जे चिजको कल्पना गर्दै गइयो, सपनामा पनि त्यही सलबलाउने त रहेछ।'
उनको भोगाइमा त्यति बेला काठमाडौंमा पाइला राख्न कि पढाइमा विलक्षण हुनुपर्थ्यो र कि नातेदार नै हुनुपर्थ्यो।
मिहिनेतले कोरेको बाटो हुँदै उनले काठमाडौंको सपनाको उडान भरे।
'नयाँ पाठ्यक्रम लागू भएपछिको पहिलो ब्याचको विद्यार्थी हुँ म। प्रथम श्रेणीमा एसएलसी पास भएपछि चिकित्सक बन्ने सपना देखाइयो, त्यही सपनाको पोको–पन्तुरो बोकेर मैले काठमाडौंको यात्रा थालेको थिएँ,' उनले भने।
चिकित्सक बन्न बाटो खोज्दै उनी काठमाडौं आए। काठमाडौं उनका लागि नितान्त भिन्न परिवेश थियो। भिन्न भूगोल, अनेकानेक सपनाको सगोल — सपनाको लक्ष्य भेट्टाउन मुस्किल पो हुने हो कि भन्ने अनिश्चय पनि थियो।
मस्तिष्कमा चिकित्सकीय सपनाको भ्रूण परिसकेकाले त्यसलाई साकार पार्नु थियो। त्यसको सेतु खोज्दै उनी 'ब्रिज कोर्स' अध्ययन गर्न थाले।
'ब्रिज कोर्सले सपनालाई जोडिदिन्छ भन्ने भ्रम र प्रचार दुवै थियो, म पनि लहैलहैमा लागेँ,' उनले ठट्यौली शैलीमा भने।
कलेजमा विज्ञान संकायमा भर्ना भएर उनी आफ्नो सपनाको गोडमेल गर्न लागे। विज्ञान विषयले चिकित्सक बन्ने बाटो देखाउँछ भन्ने उनलाई थाहा थियो।
'वास्तवमा चिकित्सक बन्न सक्छु कि सक्दिनँ भन्ने प्रवेश परीक्षाजस्तो पनि थियो। तर ११ कक्षाको नतिजाले सुखद संकेत गर्यो। १२ मा पुगेपछि त्यही विषय (बायोलोजी) छनौट गरेर बाटो बनाउन थालेँ,' उनले भने।
प्लस-टूको आशानुरूपकै प्राप्तांकले चिकित्सक बन्ने सम्भावना त देखाएको थियो, तर मध्यम वर्गका लागि चिकित्सक बन्ने सपनाको उडान निकै महँगो थियो। दुर्लभ र दुस्कर उडान पनि थियो, त्यति बेला।
सहपाठीहरूले क्रमशः चिकित्सक बन्ने सपनाको उडान भर्न थालेका थिए। उनीहरूको नवीन उडानले शाहीलाई पनि उत्प्रेरित गर्न थाल्यो। त्यसलाई मूर्तरूप दिन उनले पुनः सेतु खोज्न थाले। तयारी कक्षाहरू लिन थाले।
संयोग नै मान्नुपर्छ, छिमेकी देश चीनले उनलाई त्यो सम्भावनाको ढोका उघारिदियो। चीनको हार्बिन मेडिकल युनिभर्सिटी सम्भावनाको त्यो द्वार बन्यो, जहाँ उनले सपनालाई तन्दुरूप तुल्याउन सके।
'चिकित्सक बन्ने बाटो खोज्दाखोज्दै म दुई वर्ष अल्मलिइसकेको थिएँ। आफू सँगैका साथीले एमबिबिएसको कोर्स आधाआधी पुर्याइसक्दा म भने दिशा नै फेला नपारेझैं भएको थिएँ,' उनले भने।
उत्तरी उडानले सपनाको गन्तव्य फेला पर्ला भनेर उनले सोचेका थिएनन्।
सन् २००५ को कुरा थियो यो।
सन् २०१० सम्म उनले चीनमा व्यतीत गरे। वास्तवमा त्यो साधना थियो। आफैले कोर्दै हिँडेको घोडेटोलाई फराकिलो राजमार्ग तुल्याउने कृतसंकल्प थियो।
चीनबाट एमबिबिएस गरेर फर्किएपछि उनले रामेछापको मन्थलीमा केही समय चिकित्सकीय अभ्यास गरे। काठमाडौं फर्किएर चाबहिलस्थित ओम अस्पतालमा पनि अभ्यास गरे, मेडिकल अधिकृतका रूपमा। चिकित्सकीय यात्रामा निखारता र निपुणता आउँदै गयो।
'ओमको बसाइले मेरो सोचाइको धार नै परिवर्तन भयो। किनकि त्यहाँ डा. भोला रिजाललाई देखेँ। डा. सुनीलकुमार शर्मा, डा. सुदीप श्रेष्ठ आदिसँग सरसंगत गर्न पाएँ। डा. गोपालरमण शर्मा, डा. शिवहरि मुडबरीको काम नजिकबाट नियाल्न पाएँ,' उनी अग्रजप्रति अनुग्रहित सुनिन थाले, 'उहाँहरूलाई देखिसकेपछि चिकित्सकीय सपनाको उडानलाई अझ वेगवान बनाउन मन लाग्यो।'
चीनबाट फर्कँदा जनरल फिजिसिएन त बनिसकेका थिए, तर विशेषज्ञताको उडानमा अद्यापि अन्योल थियो। कुन बाटो रोज्ने, कुन दिशा समात्ने भनेर थाप्लोमाथि अनिश्चयको बादल मडारिएका बेला डा. राहुल पाठकले उनलाई बाटो देखाइदिए।
वास्तवमा उनै डा. पाठकले डा. अरूण शाहीलाई क्यान्सरको चिकित्सक बन्ने बाटो देखाइदिएका थिए। त्यति बेलासम्म उनी मुटु रोग (कार्डियोलोजी) पढ्न खोजिरहेका थिए।
'कार्डियोको डक्टर धेरै भइसक्नुभएको छ। क्यान्सरको विशेषज्ञ चिकित्सक कम छ, तिमीले त्यसमा राम्रो गर्न सक्छौं,' त्यति बेला डा. पाठकले आफूलाई भनेको सम्झँदै शाहीले भने, 'तिमी नेपालमै बस्ने हो भने कि नेपालमै, कि भारतमा, कि बंगलादेशमा, कि पाकिस्तानमा जहाँ पढे पनि हुन्छ। यी चारवटा देशको पढाइको लेबल उस्तै छ भनेर सल्लाह दिनुभयो।'
डा. पाठकको यति सल्लाह सुनेपछि उनले क्यान्सर रोग विशेषज्ञ नै बन्ने निधो गरे। तर कहाँको उडान भर्ने? यात्रा भने अनिश्चित नै थियो। थाप्लामाथिको बादल हटिसकेको थिएन।
उनले बंगलादेशमा आफूले इच्छा गरेअनुसार पढाइ हुने रहेछ भन्ने पत्ता लगाए। आवेदन दिँदा उनी सार्क कोटामा छनौट पनि भए।
त्यसपछि बल्ल उनलाई बाटो पाएजस्तो भयो।
सन् २०१३ बाट अर्को उडानको थालनी भयो।
'पाँचवर्षे कोर्स हो। तर बीचमा केही विलम्ब पनि हुन सक्थ्यो। त्यही क्रममा त्यहाँका चिकित्सकहरूले अर्को सल्लाह दिए – क्यान्सर दुर्बोध्य रोग बनिरहेको छ। औषधि नै पत्ता लागेको छैन। यसबारे अध्ययन, अनुसन्धान, अन्वेषण पनि गर्नुपर्छ। त्यसैले पब्लिक हेल्थ पनि पढ्नुपर्छ। उनीहरूको सल्लाह शिरोपर गर्दै मैले इपिडिमियोलोजीमा एमपिए (मास्टर्स इन पब्लिक हेल्थ) पनि गरेँ,' उनले भने।
यी दुवै कोर्स पूरा गरेर उनी सन् २०१९ को सुरूआतमा नेपाल आए।
यस विधाका निपुणहरू भन्छन्, चिकित्सकीय फाँटमा मुख्यतः तीनवटा कर्म हुन्छन्।
पहिलो, चिकित्सा शिक्षा अध्ययन गर्नु। दोस्रो, अभ्यासद्वारा त्यसलाई प्रयोगमा ल्याउनु। तेस्रो, आफूजस्तै जनशक्ति तयार पार्नु।
उनी यी तीनवटै चरण पार गरेर आफूलाई सिद्धहस्त तुल्याउन चाहन्थे। त्यसैले पढाउने ठाउँको खोजीमा पनि थिए।
'मेरो रोजाइमा वीर, पाटन र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज थियो। किनभने, यी तीनवटै स्वास्थ्य विज्ञान प्रतिष्ठान हुन्। खोज्दै जाँदा पाटनमा आवेदन माग भएको पाएँ,' उनले भने, 'पाटनमा आवेदन दिएँ। सन् २०१९ मै छनोट भइहालेँ।'
तिनताका नेपालमा क्यान्सर रोगको उपचार गराउन विशिष्टिकृत सेवासहितका अस्पताल त थिए, तर मानिसहरूको भरोसा उकासिइसकेको थिएन। क्यान्सर रोगलाई डरलाग्दो रोगका रूपमा चित्रित गरिन्थ्यो। प्राणघातक रोगको संज्ञा दिएकाले बिरामी र उनीहरूका आफन्तलाई ठूलो डर र त्रासले बेस्सरी थिच्थ्यो। रोगलाई परास्त गर्नसक्छु भन्ने आत्मविश्वास नै क्षीण हुन्थ्यो।
पैसा हुनेहरू विदेशका महँगा अस्पताल धाउने र पैसा नहुनेहरू सामान्य औषधोपचार गरेर माया पार्ने उच्चाटलाग्दो अवस्था थियो।
क्यान्सर रोग उपचार गराउन भनेर नेपालबाट दिनहुँजसो बिरामीहरू छिमेकी देश भारततर्फ गइरहेको देख्दा उनलाई आश्चर्य लाग्यो। त्यहाँको उपचारको गुणस्तर र सेवाको स्तर बुझ्न मन लाग्यो।
'मेरो सम्पर्कमा आएकामध्ये अधिकांश बिरामीले भारत जानेबारे सल्लाह मागिरहेका हुन्थे। मैले बंगलादेशमा पढेर आएकाले भारतबारे केही थाहा थिएन। त्यसैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनसँग यसबारे कुरा गरेँ। दुई–तीन महिना त्यहाँ पढ्न जाने इच्छा व्यक्त गरेँ,' उनले भने।
एक महिने अब्जर्भरका लागि बिदा अनुमति मिल्यो। यसबीच उनले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालसँग समन्वय गरे र अब्जरभेसनसिपका लागि त्यहाँ पुगे।
उनी एक महिनाका लागि गएका थिए। त्यहाँ बिरामीको चाप, सेवाको गुणस्तर आदि बुझ्दा तीन–चार महिना व्यतीत भयो।
त्यहाँ पुगेपछि थाहा भयो – नेपालबाट कुनै ठूलो कारणले क्यान्सरका बिरामी त्यहाँ गइरहेका छैनन्। स–साना कारण नै जिम्मेवार छन्।
जस्तो, नेपालगन्ज या विराटनगर पायक पर्ने मानिसहरू पनि राम्रो उपचार हुन्छ भनेर काठमाडौं धाइरहेका हुन्छन्। ठीक त्यस्तै सहरी क्षेत्रका मानिस बाहिरै गएर उपचार गराउन पाए हुन्थ्यो भन्ठान्छन्।
क्यान्सर रोगप्रतिको भय, त्रासदी र नेपालमा राम्रो उपचारै हुँदैन भन्ने हल्लाले पनि उनलाई भारततर्फ धकेलिरहेको छ।
तर भाषागत समस्या, बासस्थानको प्रबन्ध गर्नुपर्ने झन्झट, क्यान्सर रोगजस्तो निरन्तर अस्पताल गइरहनुपर्ने रोगका कारण बिरामी र कुरूवाले पाउने दुःख–ताडनाको अर्को पाटोबारे मानिसले सोच्न भ्याएका छैनन्।
'औषधि र उपचार प्रणाली सबैतिर एकै हो। हामीकहाँ के समस्या रहेछ भने, निदानमा केही विलम्ब हुन्छ (डायग्नोस्टिक डिले)। नेक्स्ट जेनेरेसन जेनेटिक सिक्वेन्सिङ आदि पनि हामीकहाँ हुँदैन। त्यहाँ निदान छिटो र छरितो ढंगबाट हुन्छ। निदानका लागि अनेक अस्पताल र ल्याब धाइरहनुपर्ने झन्झटले पनि मानिसहरूलाई त्यहाँ पुर्याएको हुनसक्छ,' उनले भने।
केही हदसम्म नेपालको भन्दा भारतको उपचार पद्धति राम्रो भएको डा. शाहीले बताए।
त्यसो त उपचार पद्धति मुलुकको अवस्था, स्रोत, साधन र प्रणालीले पनि निर्धारण गर्छ। नेपालको भन्दा भारतको उपचार पद्धति केही आधुनिक र प्रविधिमैत्री हुनु स्वाभाविकै हो। भारतको तुलनामा अस्ट्रेलिया, अमेरिका लगायत विकसित मुलुकको अझ राम्रो छ। नयाँ–नयाँ खोज, अन्वेषण र प्रयोगले उपचार प्रणालीलाई परिपक्व बनाउँदै लगेको छ।
यसको अर्थ हामीकहाँ उपचार नै नहुने, रोग नै पत्ता नलाग्ने, रोग पत्ता लगाउने नाममा अस्पताल धाउँदाधाउँदै बिरामी गलिसक्ने अवस्था भने अहिले नरहेको उनले बताए।
'केही नेपालमा हुँदैन। जस्तो, बोनम्यारो ट्रान्सप्लान्ट त्यति धेरै नेपालमा नहुनसक्छ। यद्यपि त्यसमा पनि हामीले सुधारिसकेका छौं। कार्टिसेल, प्रोटोन थेरापी (जुन रेडियसनअन्तर्गत थोरैमा मात्र प्रयोग हुन्छ) यस्ता चिज हुँदैनन्। यसका लागि जानुपर्यो भने पनि नेपालकै चिकित्सकसँग राय–परामर्श लिएर जाँदा राम्रो हुन्छ,' उनले भने।

यसरी सुरू भयो पाटनमा अंकोलोजी
आफूजस्तै चिकित्सक उत्पादन गर्ने ध्येयले उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरू गरे। उनले काम सुरू गर्दा पाटनमा क्यान्सरको उपचार नै हुँदैनथ्यो। अंकोलोजीको विभाग नै थिएन।
'भर्खर पढेर आएको थिएँ। सहकर्मी (कलिग) हरूको विश्वास जितिसकेको पनि थिइनँ। क्यान्सर रोग आफैमा दुर्बोध्य छ र उपचार पद्धति पनि जटिल नै छ। हामी रेफर त गरौंला, तर चिकित्सकले राम्रो उपचार गर्ने हो कि होइन भन्नेजस्तो संशय पनि थियो,' उनले भने।
यो डर, भय र त्रासदी पनि पन्छाउँदै, पाखा लगाउँदै उनले सेवा सुरू गरे।
केही समयसम्म संशय बहाल नै रह्यो। थोरै मात्र बिरामी सम्पर्कमा आए। सम्पर्कमा आएका बिरामीले उपचारलाई निरन्तरता दिन्थे। धेरै बिरामीलाई क्यान्सर सामान्य रोग हो, समयमै निदान भए परास्त गर्न सकिन्छ भनेर ढाडस, परामर्श दिँदा पनि उनीहरूको अनुहारमा कान्ति छाउँथ्यो। क्लान्त शरीर पनि स्फूर्त तन्दुरूस्त देखिन्थ्यो।
भनिन्छ, चिकित्सकको सही परामर्शले मात्र पनि बिरामीले हलुँगो महसुस गर्छन्। बिरामीले बुझ्ने र महसुस गर्न सक्ने किसिमको भाषाको काउन्सिलिङले औषधिकै काम गर्छ। उनीहरूको जीजिविषा बलियो बनेर आउँछ जसले रोगलाई परास्त गर्न सक्छ।
उपचारका यस्ता नवीन, बिरामीमैत्री तौरतरिका अपनाउँदा पनि संख्या नबढेपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रैका विभिन्न विभागमा गएर क्यान्सर रोग, यसमा प्रयोग भइरहेको नवीन उपचार प्रणालीबारे बताउन थाले। सबभन्दा पहिला स्त्री तथा प्रसूति रोग विभागबाट यसको थालनी गरे।
'हामीसँग रेडियसन मेसिन थिएन। यसका लागि मात्र बाहिर पठाउनुपर्छ। त्यसबाहेक सबै उपचार हामीसँग छ भनेर भन्दै गएपछि बिरामी संख्यामा बढोत्तरी आयो,' उनले भने।
'द म्याक्स फाउन्डेसन' को पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग २५ वर्षभन्दा लामो सहकार्य छ। यसले नेपाल लगायत थुप्रै मुलुकका लागि औषधि, उपकरण आदि सहायता प्रदान गर्छ। विशेष गरेर क्यान्सरसँग सम्बन्धित औषधि निःशुल्क उपलब्ध गराउँछ। नेपालका बिरामी लाभान्वित भइरहेका छन्।
डा. शाहीले पाटनको अंकोलोजी सम्हालेपछि म्याक्ससँगको सहकार्य अझै गाढा र कसिलो बन्यो।
म्याक्स फाउन्डेसनले पाटन अस्पताललाई विभिन्न क्यान्सरका १३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ। यसको मूल्य मासिक १०–१५ हजार रूपैयाँदेखि १०–१५ लाख रूपैयाँसम्म पर्छ। नेपालमा मात्र म्याक्स फाउन्डेसनबाट लाभान्वित हुनेको संख्या पाँच हजारभन्दा बढी छ। त्यसमध्ये २५ सय जनाले अहिले पनि म्याक्स फाउन्डेसनबाट सेवा लिइरहेका छन्।
स्तन क्यान्सर रोगको प्रकार, फोक्सोको क्यान्सरका बिरामी, रक्त क्यान्सरको प्रकार (क्रोनिक माइलोइड ल्युकेमिया–सिएमल), मिर्गौलाको क्यान्सर, पेटसम्बन्धी क्यान्सर (जिआइएसटी), क्रोनिक लिम्फोसिटिक ल्युकेमिया (सिएलएल) लगायत रोगका लागि टार्गेटेड थेरापीअन्तर्गत औषधि उपलब्ध गराइँदै आएको छ।
डा. शाही म्याक्स फाउन्डेसनको प्रबुद्ध समूह (थिंक ट्यांक सदस्य) मा पर्ने नेपालका एक्ला सदस्य हुन्।
'२०–२५ वर्षदेखि द म्याक्स फाउन्डेसन चलिरहेको छ। गत अक्टोबरमा म्याक्सको प्रतिनिधिमण्डल नेपाल आएको थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन गरेर बिरामीको चाप हेरेपछि उनीहरू उत्साहित भए। नेपालमा हामीकहाँ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट औषधि उपलब्ध गराउँदै आएका छन्,' उनले भने।
आँकडामै हेर्ने हो भने केही वर्षयता नेपालमा वार्षिक २० हजारदेखि २६ हजारसम्म दर्ता हुने गरेको तथ्यांकले देखाउँछ। नेपालमा पूर्ण जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री प्रणाली स्थापित नइसकेकाले एकीकृत तथ्यांक पाउन भने दुरूह छ। यसले क्यान्सर बिरामीको यकिन तथ्यांक पाउन गाह्रो छ। तथापि क्यान्सरका नयाँ नयाँ बिरामी बढेकै मान्न सकिन्छ।
निदान (डायग्नोस्टिक) चाँडो हुन थालेकाले पनि नयाँ बिरामी संख्या बढेको शाहीले बताए।
'अहिले जनचेतना बढ्यो। आर्थिक स्थितिमा पनि सुधार आएको छ। प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारीमा हुने स्थिति छ। आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गएका छन्। वर्षको एकपटक स्वास्थ्य जाँच गराउने, शंका लागे तुरून्तै परीक्षण गर्ने परिपाटी बढेकाले पनि संख्या बढिरहेको हुनसक्छ,' उनले भने, 'यसका अतिरिक्त सिटी स्क्यान, एमआरआइ लगायत महँगा मानिएका परीक्षण पनि सबैको पहुँचमा पुग्न लागेको छ। यसले अर्ली निदान पनि भएको छ।'
उनी सेवा प्रवेश गर्दा बिरामी आखिरी अवस्थामा मात्रै आउँथे। बचाउन मुस्किल हुन्थ्यो। त्यति बेला प्रायः स्टेज–३ र स्टेज–४ का बिरामी बढी आउँथे।
अहिले त क्यान्सर रोग भर्खर सुरू गरेका, स्टेज–१, स्टेज–२ का बिरामी आउँछन्। यस्ता बिरामी पूर्णतया निको पनि हुन्छन्।
'अहिले हामीसँग क्यान्सरलाई परास्त गरेका (क्यान्सर सर्भाइभर ग्रुप) नै धेरै भइसकेका छन्। उनीहरूले पनि जनचेतना अभिवृद्धि गरिरहेका छन्। यसले रोगसँग जुध्न सजिलो भएको छ,' उनले भने।
क्यान्सरबारे समाजमा नकारात्मक धारणा व्याप्त थियो। क्यान्सर लागे घरखेत जान्छ, सम्पत्ति पनि रहँदैन, मानिस पनि रहँदैन भन्ने धारणा व्याप्त थियो। यही भारले मानिसहरू नराम्ररी थिचिएका थिए, उनले भने, 'अहिले त्यसबाट मानिसहरूलाई बाहिर ल्याएका छौं। क्यान्सर रोग जितेर सार्वजनिक पदमा आसिन भएका व्यक्तित्वहरूको उदाहरणले पनि क्यान्सरप्रतिको भयग्रस्त धारणा धेरै हदसम्म न्यूनीकरण गर्न सफल भएका छौं।'
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नायिक मनिषा कोइराला, गायिका देविका बन्दना यसका उदाहरण हुन्।

केही क्यान्सरका रोग अहिले पनि समयमै पहिचान हुन मुस्किल छ। पित्तथैलीको क्यान्सर, स्तन क्यान्सरका केही प्रकार अन्तिम अवस्थामा निदान हुन्छन्। त्यसका केही कारण रहेको डा. शाहीले बताए।
उनका अनुसार शरीरको असाध्यै भित्री अंगमा फैलिएका क्यान्सरले सुरूआतमै लक्षण नदेखाउन सक्छन्। सुषुप्त रूपमा भित्रैभित्रै फैलिइरहेका पनि हुन सक्छन्।
'हाम्रो शरीरको बनावटै कस्तो छ भने कुनै कुनै अंग एकदमै भित्र हुन्छन्। हामी हेपाटोबिलरी सिस्टम भन्छौं। कलेजो, पित्तथैली, आमाशय, अग्नाशयजस्ता अंग शरीरको रक्षाकवचले यति सुरक्षित गरेर राखेको हुन्छ। चोटपटक लाग्दा पनि क्षति हुँदैन। जति भित्री अंगमा फैलिएको हुन्छ, उति लक्षण देखिन समय लाग्छ। जति बेला लक्षण देखिन्छ, त्यति बेला धेरै कुरा खराब भइसकेको हुन्छ,' उनले भने।
उनले मिर्गौलाकै उदाहरण दिए। मिर्गौला १०–१५ प्रतिशत खराब हुँदा पनि लक्षण देखिँदैन। जति बेला लक्षण प्रकट हुन थाल्छ, त्यति बेला ५० प्रतिशत भन्दा बढी काम नलाग्ने भइसक्छ।
औसतभन्दा बढी नै नेपालीहरूको सहने बानीसमेत छ। ज्वरो आउँदा, पेट दुख्दा, हात, खुट्टा, आँखा, अनुहार, जिब्रो आदिले कुनै रोगको लक्षण देखाइसक्दा चिकित्सककहाँ जान झन्झट मान्ने चलन छ। मेडिकल वा नजिकैको फार्मेसीमा गएर औषधि खाइहाल्ने चलन पनि छ।
'स–साना दुखाइ, पोल्ने, झमझमाउने आदि कुराहरू सहेर बसिरहँदा जटिल अवस्था निम्तिएको हुनसक्छ। समयमै पहिचान भएका समस्या (शरीरका गाँठागुँठीको अस्वाभाविक वृद्धि) लाई बेवास्ता गर्ने प्रचलन छ। अर्को, देशको जटिल भूबनोट छ। देशका दुरदराजका गाउँमा सवारी साधनको सुविधा छैन। बाटोघाटो, सवारी साधन नै समेत बिग्रिएको हुन्छ। त्यस्तो अवस्थामा बिरामी भइहाले समयमै अस्पताल पुर्याउन कष्टसाध्य हुन्छ। रोग फैलन्छ,' उनले भने।
डा. शाहीलाई लाग्छ, क्यान्सर एउटा सामूहिक लडाइँ हो। सीधा आँखाले हेर्दा बिरामी प्रत्यक्ष पीडित/प्रताडित देखिए पनि विशेषज्ञ चिकित्सकहरू नै यसको केन्द्रमा छन्। चिकित्सा प्रणालीमा भइरहेको नवीनतम खोज, अन्वेषण र परीक्षणले यो रोगको प्रभाव मत्थर तुल्याउँदै लगेको छ।
'अहिले यसमा जोडिन पाएको छु। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ अंकोलोजी सुरू गर्ने अर्को लक्ष्य पनि छ,' जाँदाजाँदै उनले सपनाको अर्को उडानबारे पनि सुनाए।
***