डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ।
शनिबार दिउँसो ठुली भेरी नगरपालिका - १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूह बिच झडप भएको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबिच झडप भएको हो।
उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो। दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए।
अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताए।