दाङका विभिन्न वन क्षेत्रमा सात वटा वयस्क बाघ फेला परेका छन्।
डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए।
एउटा भाले, दुइटा पोथी र चार वटा लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।
ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामरामा कैद गरिएका हुन्। सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थियो।
चालीस दिनसम्म एक सय नौ वटा क्यामरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए।
उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाका वन क्षेत्र समेटेको थियो।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो।
हाल संकलित तथ्यांकको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।