तिनाउ नदीमा डुबेर एक जना भारतीय युवा बेपत्ता भएका छन्।
पाल्पाको तिनाउ गाउँपालिक वडा नम्बर ३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा भारतको महाराजगन्ज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अन्य चार जना साथी सहित बुटवल घुम्न आएका अन्सारी पौडी खेल्ने क्रममा ड्यामसाइडमा अचानक डुबेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले अन्सारी डुबेर बेपत्ता भएको बताए।
घटना बिहीबार दिउँसो साढे तीन बजेतिर भएको थियो।
साँझसम्म खोजी भए पनि अन्सारीलाई फेला पार्न नसकिएको प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले बताए।
तिनाउमा पानीको बहाव बढेकाले खोजतलासमा समेत कठिनाइ भएको उनले बताए।