बसमा यात्रारत एक व्यक्तिको मृत्यु भएको छ।
बुधबार दाङको घोराहीदेखि रोल्पाको जुगाँर जान बस चढेका ५० वर्षीय लाल बहादुर खत्रीको बसमै मृत्यु भएको हो।
त्रिवेणी गाउँपालिका–५, हलंगाका लाल बहादुर रा १ ख २३५७ नम्बरको बसमा सवार थिए। बस होलेरीमा पुग्दा उनको मृत्यु भइसकेपछि मात्रै अरूले थाहा पाएको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक विजय चापागाईंले सेतोपाटीलाई बताए।
'उहाँ बिहान दाङको घोराहीबाट घर जान बस चढेर आउनुभएको भन्ने छ,' चापागाईंले भने, 'उहाँ सिटमा एक्लै बस्नुभएको रहेछ। उहाँको मृत्युको घटनाबारे सँगै यात्रारत अरू कसैले थाहा पाएका थिएनन्।'
इलाका प्रहरी कार्यालय होलेरीका निमित्त कार्यालय प्रमुख, वरिष्ठ सई ताराबहादुर छारीका अनुसार होलेरीमा आइपुगेपछि मात्रै लाल बहादुरको मृत्यु भएको थाहा भएको कुरा बसका कर्मचारीले बताएका छन्।
लाल बहादुर बसको ७/८ नम्बर सिटमा एक्लै बसेका थिए। बसमा जम्मा १९ जना यात्रु थिए। घोराहीबाट छुटेको बस दिउँसो १२ बजेतिर होलेरी पुगेको थियो। बसमा उनीभन्दा पछाडि कोही यात्रु थिएन। सिटमा उनले बोरा पनि राखेका थिए, जसले गर्दा अरू यात्रुले उनलाई खासै वास्ता गरेका थिएनन्।
बोरामा ओढ्ने लत्ताकपडा लगायत सामग्री थिए। त्यही झोला र बोराले पनि उनलाई छेकेको थियो।
घोराहीबाट झन्डै २३ किलोमिटर उत्तर होलेरी पुगेपछि यात्रुहरू खाना/खाजा खान झरेका थिए। गाडी कर्मचारीका अनुसार त्यो बेला लाल बहादुर पनि गाडीबाट झरेर केरा किनेर खाएका थिए। उनी केरा खाँदै बसमा चढेको उनीहरूले बताएका छन्।
होलेरीका वरिष्ठ सई छारीले पनि बसभित्र सिटमा तीन–चार वटा केराका बोक्रा भेटिएको र मृतक लाल बहादुरको मुखमा पनि केरा देखिएको बताए।
अरू यात्रुले खाना/खाजा खाएर बसमा फर्किएपछि सबै आ–आफ्नो सिटमा बसे। त्यही क्रममा सहचालकले लाल बहादुरलाई सिटमुनि, बसको कोलियामा सुतेको देखेका थिए। उठाउन खोज्दा लाल बहादुरको मृत्यु भइसकेको पत्ता लागेको थियो।
नजिकैको प्रहरीलाई घटनाबारे दिउँसो मात्रै खबर भएको वरिष्ठ सई छारीले बताए।
'सहचालकले बाजे, किन भुइँमा सुतेको, सिटमा बस्नुहोस् भनेर उठाउन खोज्दा नउठेपछि बल्ल उहाँको मृत्यु भइसकेको थाहा भएको रहेछ,' वरिष्ठ सई छारीले भने, 'त्यसपछि मात्रै उनीहरूले हामीलाई खबर गरेका थिए।'
प्रहरीका अनुसार लाल बहादुरको झोलामा जन्डिसका औषधि फेला परेका छन्।
त्यस्तै केही समयअघि उनीसँगै सिटमा बसेर यात्रा गरेका एक युवाले प्रहरी समक्ष लाल बहादुरले मदिरा सेवन गरेको बताएका छन्। केही समय लाल बहादुरसँग बसेका ती युवाले पछि आफू अगाडिको सिटमा गएर बसेको बयान दिएका छन्।
वरिष्ठ सई छारीका अनुसार लाल बहादुर मंगलबार बेलुकी मात्रै काठमाडौंबाट बस चढेका थिए। बुधबार बिहान दाङको घोराही आइपुगेका थिए।
उनी चढेको बसका चालक एकै गाउँका चिनजानकै व्यक्ति हुन्। चिनजानकै भएकोले लाल बहादुर सोही बस चढेर घर फर्किएका थिए।
लाल बहादुर काठमाडौंमा इँटा भट्टामा काम गर्थे। उनको मृत्युको कारण खुल्न बाँकी रहेको वरिष्ठ सई छारीले बताए।
बसमा सवार लाल बहादुर मृत्यु भएको खबर पाएपछि उनकी श्रीमती, प्रहरी नै रहेका भतिज लगायत आफन्त होलेरी आइपुगेका छन्। प्रहरीले बस होलेरीमै रोकेर घटनाको अनुसन्धान गरिरहेको छ। चालक र सहचालक पनि हाल होलेरीमै रहेको प्रहरीले जनाएको छ।