जल तथा मौसम विज्ञान विभागले बुधबार मनसुन ऋतुको हावापानी आकलन गर्यो।
मनसुनको 'आउटलुक' अनुसार हिमाली क्षेत्रमै बढी पानी पर्ने देखिएको छ। १४ वटा हिमाली जिल्लामध्ये दार्चुलाको पश्चिमी भेगमा सरदरको तुलनामा केही बढी आकलन गरिएको छ। बाँकीमा अधिक नै वर्षा हुने आकलन गरिएको छ। कर्णाली र गण्डकीको हिमाली भेगले यसपटक सरदरको तुलनामा धेरै नै वर्षाको मार खेप्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। जुन डरलाग्दो संकेत हो।
अझ डरलाग्दो त, नदी करिडोर क्षेत्रमा देखिएको छ। वैशाखको आधाआधीदेखि नै निरन्तर पानी परिरहेको छ। अर्को हप्तासम्म निरन्तर वर्षा हुने मौसमविद्ले बताइरहँदा केही नदी नालामा गेग्रान बहावको समस्या देखिएको छ।
महाभारत पर्वतबाट उत्पत्ति भएर बग्ने रोशी खोलामा दिनहुँ गेग्रान बहाव आइरहेको छ।
गत असोज १० देखि १३ गतेसम्मको वर्षापछि आएको भेलबाढीले रोशीको तटीय क्षेत्रमा व्यापक कटान गरेको थियो। पनौती नगरपालिका, रोशी गाउँपालिकाका तटीय क्षेत्रमा क्षति पुर्याएको थियो।
बिपी राजमार्गअन्तर्गत १३ किलोमिटर भाग कटान गरेको थियो।
गत वैशाख २९ गते रोशी खोलामा पुनः गेग्रानसहितको बाढी आएको थियो। पनौती क्षेत्रमा वर्षातपछि आएको भेलबाढीले एक जना महिलालाई बेपत्ता बनाएको थियो। उनको अवस्था हालसम्म पनि अज्ञात छ।
वैशाख २९ यता रोशीमा निरन्तर लेदोसहितको बाढी आएको सडक डिभिजन भक्तपुरका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। रोशीमा आज पनि भेलबाढी आएको थियो। भेलबाढी आउँदा सवारी साधन रोकिएका थिए।
अहिले सडक डिभिजन भक्तपुरले बिपी राजमार्गलाई बर्खामा चलाउन सकिने गरेर मर्मत गरिरहेको छ। तर निरन्तरको गेग्रान बहाव चुनौती बनिरहेको छ।
‘रोशी खोलामा निरन्तर बाढी आइरहेको छ। वैशाख २९ गतेको भेलबाढीले माम्तीका रहेको डाइभर्सन नै बगायो,’ उनले सेतोपाटीसँग भने।
गत चैतयता रोशी खोलाको करिब ५ किलोमिटर खण्ड डाइभर्ट गरिएको उनले बताए। त्यसका अतिरिक्त अस्थायी ट्र्याक खण्ड उकास्ने काम पनि गरिएको उनले बताए।
‘अब माम्तीमा डाइभर्सन बनाउने काम बाँकी छ। त्यसका अलावा हामीले तारजाली भर्ने योजना बनाएका छौं। असारसम्मको बाढीलाई त कुनै समस्या छैन। त्यसपछिको पनि तयारी गरेका छौं,’ उनले भने।
सडक डिभिजन भक्तपुरले बर्खामा पनि चलाउने गरी मर्मत थालिरहेको छ। तर प्रि–मनसुनकै भेलबाढीले चुनौती दिइरहेका बेला सडक डिभिजनले त्यसको पनि तयारी गर्ने योजना बनाएको उनले बताए।
‘अब केही दिनमा ठेकेदार पनि मोबिलाइज हुन्छ। जेठ अन्तिम हप्ता या असारको पहिलो हप्ता ठेकेदार परिचालन भइसकेको हुन्छ। निर्माण कम्पनी परिचालित भएपछि हामीलाई पनि सहज हुन्छ,’ उनले भने।
गत असोजमा आएको भेलबाढीले थुपारेको गेग्रानलगायत नदीजन्य सामग्री खोलामै थियो। ग्रामीण सडक, जग्गाको खण्डीकरण आदिले पनि वैशाखको अन्तिम साता २४ घन्टामा ४३ मिलिमिटर पानी पर्दैमा भेलबाढी आएको मौसमविद्ले बताएका छन्। पछिल्लो समय निरन्तर वर्षा भएको र प्रि–मनसुनको पानीले जमिन गलिसकेकाले बाढी र पहिरोको जोखिम बढेको मौसमविद्को भनाइ छ।



तस्बिर: उज्ज्वल न्यौपाने।