सर्लाहीमा मंगलबार दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ।
क्षेत्रीय सडक खण्ड अन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको हो।
बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
नागेन्द्रको मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनिदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो।
दुवै मृतकको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ।