नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जिप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा सोमबार स्मृति सभा गरिएको छ। मदन भण्डारी फाउन्डेसन चितवनले मदन–आश्रितको स्मृतिमा सभा गरेको हो।
जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनाको दुई दिनपछि जेठ ५ गते भरतपुर महानगरपालिका वडा नम्बर १७ गाँजीपुरमा भण्डारीको शव भेटिएको थियो।
मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीले विगतमा हिंसात्मक संघर्ष चलाउनेहरू पनि जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको बताए। उनले अब माओवादीहरूको बाटो पनि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै भएको बताए।
मदन भण्डारी फाउन्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले फाउन्डेसनले स्थापनासँगै वैचारिक र राजनीतिक सँगसँगै सामाजिक र आर्थिक विकासको काम पनि गरेको बताए।
समग्र नारायणी नदी किनारसँगै गाँजीपुर क्षेत्र र दासढुंगा क्षेत्रको विकास गरे आर्थिक रूपान्तरणको केन्द्र बनाउन सकिने उनले बताए। उनले दासढुंगादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको विकासलाई एकीकृत गरेर लैजानुपर्छ भन्नेमा फाउन्डेसन रहेको बताए।
यसका लागि दासढुंगा–गाँजीपुर एकीकृत विकास परियोजनाको नाममा समिति तयार गरी विज्ञसहितको उपस्थितिमा अध्ययन गरेर खाका तयार गरिएको भट्टराईले बताए।
२०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जिप दुर्घटनामा परेको थियो। आश्रितको शव दासढुंगामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो।