कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन व्यवसायमा लगाउने सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्।
रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमल्सिना, तनहुँ व्यास नगरपालिका-५ बस्ने २१ वर्षीय सलन गुरूङ पक्राउ परेका हुन्।
रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोली मंगलबार रेष्टुरेन्ट पसेको थियो।
रेष्टुरेन्टबाट ५ जना महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकुमार बस्नेतले जानकारी दिए।
'महिलाहरूलाई उद्धार गरी सेफ हाउसमा पठाएका छौं,' उनले भने।
पक्राउ परेकाहरूविरूद्ध मानव बेचबिखनसम्बन्धी कसूरमा ६ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।