इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ।
मंगलबार साँझ दक्षिणी गजाको खान युनिसमा रहेको युरोपियन गजा अस्पतालमा इसराइलले हवाई आक्रमण गर्दा कम्तिमा पनि २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
आक्रमणमा ४० जना भन्दा बढी घाइते भएको बताइएको छ।
कतारबाट प्रकाशित हुने पत्रिका अल जजिराले ५६ जनाको मृत्यु भएको दाबी गरेको छ भने ५० भन्दा बढी घाइते भएको समाचारमा उल्लेख गरेको छ।
बिबिसीले अस्पताल परिसरमा ६ वटा बम खसेको बताएको छ। अस्पताल परिसरमै बम खसेपछि ध्वस्त भएको संरचनामा धेरै मानिसहरू पुरिएको पनि अस्पतालका डाक्टर सलेह अल हमासले बताएका छन्।
अमेरिकी मिडिया सिएनएनले त्यहाँ हमासका नेता मोहम्मद सिन्वरलाई लक्ष्य गरेर इसराइलले आक्रमण गरेको थियो।
मोहम्मद सिन्वर गत अक्टोबरमा मारिएका हमासका नेता याह्या सिन्वरका भाइ हुन्। उनले अस्पताल रहेको जमिनमुनि हमासको कमान्ड र कन्ट्रोल सेन्टर चलाएको दाबी गरेर इसराइलले आक्रमण गरेको स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले भने हमास नेतालाई लक्ष्य गरेको नभनी त्यहाँ हमास लडाकूहरूको कमाण्ड सेन्टर रहकाले आक्रमण गरिएको दाबी गरेको छ।
आइडिएफले मंगलबार राति गजाबाट प्रहार भएको दुई वटा रकेट निस्तेज पारेको दाबी पनि गरेको छ।
हमासले सोमबार एकजना बन्धक छाडेको थियो। बन्धक छाडे पनि इसराइलले हमासलक्षित कारबाही जारी राख्ने भनेको थियो।
२०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरेर १२ सय जनाको हत्या गरेपछि इसराइलले गजामा हमासलक्षित कारबाही चलाएको थियो। यसबीच दुई पटक युद्धविराम भएपनि त्यसले दीगो रूप लिन सकेन।
गत माघ ५ गते अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविरामसँगै दीगो शान्ति स्थापना गरी गजाको पुनर्निमाण समेत गर्ने सहमति जुटेको थियो।
तर पहिलो चरणको युद्धविरामको समय सकिएपछि सहमतिअनुसार दोस्रो चरणको युद्धविराम भाँडिएयता इसराइलले गजामा हमला गर्दै आइरहेको छ।
अक्टोबरमा हमासले बन्धक बनाएर गजा पुर्याएको नेपालका विपिन जोशीसहित ५८ जना बन्धकहरु अझै हमासकै कब्जामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।