अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन फिर्ता लिएको छ।
स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका-चीन व्यापार वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ११५ प्रतिशत विन्दुले घटाउने सोमबार घोषणा गरेका थिए।
त्यसपछि व्यापार युद्ध चर्किरहेको बेलामा बोइङमाथि लगाएको प्रतिबन्ध चीनले फिर्ता लिएको भनेर ब्लुमबर्गले लेखेको छ।
चिनियाँ सरकारी अधिकारीहरूले वायुसेवा कम्पनीहरूलाई अमेरिकामा निर्मित विमानहरूको डेलिभरी पुनः सुरू गर्न सकिने बताउन थालेका भनेर स्रोतहरूको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ। वायुसेवा कम्पनीहरूलाई आफ्नै समय र शर्तहरूमा डेलिभरी लिन सरकारले स्वतन्त्रता दिएको छ।
चीन सरकारले बोइङको नयाँ जहाज नलिन निर्देशन दिएपछि चिनियाँ एयरलाइन कम्पनीका लागि तयार भएका केही जहाज अमेरिका फर्केका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धले चर्काएको जबाफमा चीनले बोइङको नयाँ जहाज किन्न रोकेको थियो। चीन सरकारले बोइङको नयाँ जहाज नलिन आफ्ना एयरलाइन कम्पनीहरूलाई निर्देशन दिएको थियो। चीनको उड्डयन नियामकले नयाँ जहाजका लागि खरिद सम्झौता मात्रै नभएर पहिल्यै सम्झौता भइसकेका जहाजको पनि डेलिभरी रोक्ने खालको निर्देशन जारी गरेको थियो।
हवाई जहाजसम्बन्धी कुनै पार्टपुर्जा पनि अमेरिकी कम्पनीहरूसँग नकिन्न पनि चीनले उर्दी जारी गरेको थियो। चीनमा भर्खरै बामे सर्दै गरेका हवाइजहाज निर्माता कम्पनी अमेरिकी पार्टपुर्जाहरूमा निर्भर हुने भए पनि चीनले पार्टपुर्जामा समेत रोक लगाएको थियो। चिनियाँ जहाजको गुणस्तर बढाएर बोइङ र युरोपको एयरबससँग प्रतिस्पर्धा गर्ने लक्ष्यमा प्रभाव पार्ने भए पनि वास्ता नगरी पार्टपुर्जामा समेत रोक लगाएको थियो।
आफ्नो ७३७ म्याक्स मोडलमा समस्या आएका कारण संकटमा परेको बोइङ कम्पनी चीनले जहाज नकिन्ने भएपछि थप संकटमा परेको थियो।
द्रुतगतिमा आर्थिक विकास गरेको र एक अर्बभन्दा बढी जनसंख्या भएको चिनियाँ बजारमा बोइङको पहुँच बन्द भएपछि अमेरिकीले राष्ट्रिय गौरवका रूपमा लिने सो कम्पनीलाई समस्या परेको थियो।
केही वर्ष पछि नयाँ विमानका लागि चीन सबैभन्दा ठूलो बजार हुने अपेक्षा गरिन्छ। आगामी दुई दशकमा विश्वमा ठूला हवाई जहाजको मागको २० प्रतिशत हिस्सा चिनियाँ एयरलाइन कम्पनीहरूले ओगट्ने प्रक्षेपण छ। यति ठूलो हिस्सा पहुँच बाहिर भएपछि समस्याग्रस्त बोइङलाई उठ्न थप मुस्किल पर्ने थियो।
चीनले सो प्रतिबन्ध फिर्ता लिए पछि बोइङलाई ठूलो राहत भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)