भारत-पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सशस्त्र प्रहरी बलले नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ।
एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ।
बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेका छन्। सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए।
'सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच, सुक्ष्म रूपमा खबर संकलन गर्ने कार्य समेत गरिराखेको छ,' उनले भने।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदान–प्रदान गरिएको छ। साथै सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्यसमेत कडाइ गरिएको उनले बताए।
नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।