काठमाडौंको नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दोलखा बैतेश्वर गाउँपालिका-२ घर भई भक्तपुर ठिमी बस्ने ३७ वर्षीय बिमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई भक्तपुरको ठिमीबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
काठमाडौं महानगरपालिका-५ नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा वैशाख २० गते (शनिबार) चोरी भएको थियो।
त्यहाँबाट दुई लाख १७ हजार ९६६ रुपैयाँ बराबरको चोरी भएको एसपी बोहराले बताए।
उनका अनुसार श्रेष्ठले महंगा रक्सीदेखि काजुसम्म चोरी गरेका छन्।
३० हजार २६४ रुपैयाँ पर्ने ब्लुलेबल, १६ हजार १९६ पर्ने ग्लेण्डफिडिच, ४,७५५ रुपैयाँ पर्ने ओल्ड दरबार, १० हजार २०० बराबरको सूर्य चुरोट, २८ हजार ७२५ रुपैयाँ बराबरको आलमण्ड चोरी गरेको आरोप छ।
त्यस्तै २३ हजार १९६ रुपैयाँ बराबरको पिस्ता, २० हजार २३० बराबरको काजु, १३ हजार ७०० बराबरको स्याफ्रान र १९ हजार ५०० बराबरको फिस ओइल चोरेको आरोप छ।
यस घटनामा परिसरले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीबाट केही सामान बरामद समेत गरेको छ।