मदिरा व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्।
केही वर्षअघि काठमाडौंको कान्तिपथमा रहेको ग्रीनलाइन सेन्टर प्रालिमा ताला लगाएर परिवारसहित भारत भागेपछि चर्चामा आएका अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बैंकिङ कसुरमा एक करोड ५० लाख जरिवाना र ३० दिन कैद भुक्तान गर्न बाँकी रहेको हुँदा पक्राउ गरेको हो।
४७ वर्षीय अग्रवाललाई मंगलबार प्रहरीले स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो। उनीविरूद्ध उच्च अदालत पाटनले २०८० जेठ २२ गते उक्त सजाय सुनाएको थियो।
उनीविरूद्ध पुमोरी डेभ्लपर्स प्रालिले मुद्दा दानयर गरेको थियो। अग्रवाल सागर डिष्टिलरी प्रालिका संचालक समेत हुन्।
उनले पुरानो व्यावसायक चिनजानको क्रममा कारोबारको सिलसिलामा आवश्यकता परेपछि प्रालिका संचालकहरूसँग व्यक्तिगत र कम्पनीको नामबाट पटकपटक रकम लिएका थिए।
त्यसरी एक करोड ५० लाख रकम भएको थियो। तर प्रालिलाई चेक काटेर दिँदा चेक बाउन्स भएको थियो। उक्त चेक बाउन्स कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
अग्रवालविरूद्ध चेक अनादर कसुरमा २०८० असार २१ गते तीन हजार रुपैयाँ जरिवाना र २०८० फागुन २४ गते चेक अनुसारकै कसुरमा चार हजार रुपैयाँ जरिवाना समेत भएको थियो।
२०७८ सालमा ग्रिनलाइन सेन्टर प्रालि संचालन गर्दा अग्रवाल सुटुक्क भारत भागेका थिए।
उनले व्यापारको तनावले गर्दा परिवारसहित भारत पुगेको बताएका थिए। पछि उनले प्रहरीसँग सम्पर्क समेत गरेका थिए।
उनी सम्पर्कबिहीन भएपछि विभिन्न बैंकले उनको कम्पनीमा ताला समेत लगाएका थिए।
सर्वसाधारणको निक्षेपबाट ग्रीनलाइनमा बैंकहरूले गरेको लगानी जोखिममा परेपछि यो प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। सञ्चालक फरार भएको विषयमा भने तत्कालीन समयको महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको थियो।