पर्सामा हत्या आरोपमा फरार रहेका व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन्।
पोखरिया नगरपालिका -५ का ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार पक्राउ गरेको हो।
पोखरिया नगरपालिका-६ बस्ने शंकरप्रसाद महतो चाईको हत्या आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पसाका डिएसपी किशोर लम्सालले जानकारी दिए।
चाईको २०७९ वैशाख ११ गते उपचारको क्रममा सहिद गंगालाल अस्पताल काठमाडौंमा मृत्यु भएको थियो। एकसाता अगाडि अर्थात २०७९ वैशाख ४ गते शंकरप्रसाद महतो चाईको छोराको विवाहको कार्यक्रम थियो।
त्यसदिन बेहुली बिदाई गर्न नमानेको विषयमा झडप हुँदा शंकरप्रसादको टाउँकोमा गम्भिर चोट लागेर घाइते भएका थिए। घाइते भएका शंकरप्रसादको उपचारको क्रममा मृत्यु भएपछि उनका परिवारले प्रहरीमा जाहेरी दिएको डिएसपी लम्सालले जानकारी दिए।
'त्यतिबेला देखि नै आरोपित फरार थिए, तीन वर्षपछि नियन्त्रणमा लिएका हौं,' उनले भने।
पक्राउ परेका चौहानविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए।