भक्तपुरमा ट्रकको ठक्करबाट साइकलयात्री घाइते भएका छन्।
मंगलबार बिहान पौने ५ बजेतिर मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ट्रकले ठक्कर दिँदा साइकलयात्री घाइते भएका हुन्।
ना ६ ख ४३८० नम्बरको ट्रकले लोकन्थली पुरानो हेल्थ पोस्टबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो।
ठक्करबाट अर्घाखाँची पाँणेनी गाउँपालिका-१ घर भई कोटेश्वर बस्ने ४५ वर्षीय शेषकान्त पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानले जानकारी दिए।
पोखरेलको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। घाइते रहेका पोखरेलको टाउको पछाडिको भाग फुटेको र छातीमा भित्री चोट लागेको डिएसपी न्यौपानेले बताए।
दुर्घटनापछि चालक फरार भएका थिए। प्रहरीले चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-४का २४ वर्षीय राजु तामाङलाई मध्यान्ह १२ बजे पक्राउ गरेको छ।