सुर्खेतमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको हत्या गरेका प्रहरीले जनाएको छ।
प्रेमाको मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि उनको हत्या गरेको खुलेको पनि प्रहरीले बताएको छ।
शनिबार दर्शनले प्रेमालाई छिन्चुमा बोलाएका थिए। उनले साथी मार्फत सामान पठाइदिएको र आफू गएर लिन भनेका थिए।
प्रेमा गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसहित बस्थिन्। उनको माइती घर पनि सोही वडाको तोरीबारी हो। सात वर्ष पहिले उनीहरूको प्रेम विवाह भएको थियो। पछिल्लो समय भने उनीहरूबीच राम्रो सम्बन्ध नभएको र झैझगडा परिरहने खुलेको छ। एकअर्कामाथि शंका गर्ने उनीहरूबीच सम्बन्ध बिच्छेद गर्नेसम्मको कुरा चलेको थियो।
त्यसैले दसैंमा बिदायता दर्शन घर आएका थिएनन्। तर सामान लिन जानू भनेपछि प्रेमा भेरीगंगा नगरपालिका–१२ छिन्चुमा शनिबार साँझपख पुगेकी थिइन्।
एकाएक श्रीमानलाई देखेपछि प्रेमाले अचम्म मान्दै किन झुट बोलेको भनेर सोधिन्।
दर्शनले सहज जबाफ दिए – सरप्राइज दिन।
उनीहरूको भेट साँझ करिब साढे ६ बजेतिर भएको हुन्छ। भेटपछि उनीहरू केही बेर गफिँदै हिँड्छन्। केही बेरमै विवाद सुरू हुन्छ। प्रेमा वीरेन्द्रनगरतर्फ हिँड्न थाल्छिन्। भनाभन गर्दै दुवै झिगेनारा खोलाको पुल तरेर उत्तर–पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन्।
सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार आधा घन्टा जति पैदल हिँडेपछि उनीहरू बाटोमा बसेर विवाद गर्न थाल्छन्। त्यहीबीच दर्शनले प्रेमाको मोबाइल खोस्छन्। मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि यो को हो भन्दै सोधखोज गर्छन्।
प्रेमाले पनि दर्शनलाई विभिन्न महिलासँगको सम्बन्धबारे कुरा झिक्छिन्।
आवेगमा आएर दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गर्छन्। प्रेमा भुइँमा ढल्छिन्। दर्शन पाँच मिनेटसम्म पर्खिन्छन्। प्रेमा हलचल नगरेपछि मरेको सुनिश्चित गर्छन्। अनि उनकै सलले घाँटीमा कसेर घिसार्दै केही पर पुर्याउँछन् र पानी भएको खाडलमा फालिदिन्छन्।
झुन्डिएर आत्महत्या गरेको जस्तो देखाउन प्रेमाको घाँटीमा सलले कसेर घिसार्दै पानीमा फालिदिएको बयान दर्शनले प्रहरीसमक्ष गरेको एसपी खड्काले बताए।
प्रहरीले घुँडासम्म पानी भएको खाडलमा आइतबार प्रेमाको शव फेला पारेको थियो।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग वड थापाका अनुसार प्रेमा तीन–चार दिनअघि नै घरबाट निस्किएकी थिइन्। उनले फेसबुकमा अर्कै युवकको फोटो राखेको देखेपछि दर्शन हत्या योजनाका साथ घर बिदामा आएको अनुमान प्रहरीले गरेको छ।
मोबाइलमा अर्कै पुरूषको फोटो देखेपछि एकाएक आवेगमा आएर हत्या गरेको बयान दर्शनले प्रहरीसमक्ष गरेको डिएसपी थापाले बताए।
'श्रीमान र श्रीमतीबीच आशंका र अविश्वासको परिणाम स्वरूप हत्या भएको हो,' डिएसपी थापाले भने।

उनका अनुसार दर्शनको पनि तीन जना महिलासँग सम्बन्ध रहेको खुलेको छ।
'श्रीमान परस्त्रीसँग लागेको थाहा पाएपछि नै प्रेमा र दर्शनबीच अविश्वास चुलिएको देखिन्छ,' थापाले भने, 'अनि प्रेमाले पछिल्लो समय फेसबुकमा परपुरूषको फोटो राखेपछि दर्शन बिदा मागेर घर आएका थिए।'
प्रेमाको हत्यापछि दर्शन सुर्खेतको एक होटलमा गएका थिए। त्यहाँ आफ्नो झोला राखी गाडी चढेर गुर्भाकोटस्थित आफ्नो घर गएका थिए। बेलुकी ८ बजे पुगेर त्यहीँ बास बसेका थिए।
आइतबार दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रेमाको पहिचान खुलेपछि श्रीमान दर्शनको खोजी भएको थियो। उनी बिदामा घर आएको थाहा भएपछि प्रहरीले सोधपुछका लागि दर्शनलाई घरबाटै नियन्त्रणमा लिएको थियो। सोधपुछ क्रममा उनले घटना स्वीकार गरेका थिए।
घटनास्थलमा प्रहरीले ढुंगा प्रहारपछि प्रेमा भुइँमा लड्दा लागेको रगत, घाँटीमा सलले बाँधेर घिसारिएको बाटो र जंगलमा फालेको प्रेमाको मोबाइल पनि फेला पारेको छ।
प्रहरी हिरासतमा रहेका दर्शनलाई जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको डिएसपी थापाले बताए।
