सहकारीको रकम अपचलन प्रकरणः
उच्च अदालत विराटनगरका दुई जना न्यायाधीशको राय आपसमा बाझिएपछि जिल्ला अदालत मोरङको आदेशबारेको निवेदन अब तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको छ।
सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेपछि अदालतले वैशाख ११ मा यसबारे सुनुवाइ गरेको थियो।
न्यायाधीशहरू श्रीधरा कुमारी पुडासैनी र केशव प्रसाद बास्तोलाको राय बाझिएको थियो। दुई न्यायाधीशको राय बाझिएपछि अब यो विषय तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो। उच्च अदालतका अनुसार अबको पेसी वैशाख २५ लाई तोकिएको छ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन्। उनीसहित ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो।
जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरूलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङले उच्चमा निवेदन दिएको थियो। उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीश प्रसाद भट्टका अनुसार फौजदारी संहिता अनुसार तल्लो अदालतको आदेशले थुनामा पठाए मुक्त गर्न र थुनामा नराखे थुनामा पठाउन माग गर्दै माथिल्लो अदालतमा निवेदन दिन पाइने प्रावधान छ। यही प्रबन्ध अनुसार सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो।
न्यायाधीश पुडासैनीले जिल्लाको आदेश परिवर्तन गरिरहनु नपर्ने राय दिँदा न्यायाधीश बास्तोलाले जिल्लाको आदेश एक रूपको नदेखिएको भन्दै धरौटी रकम बढाएर एक करोड रूपैयाँ पुर्याउनुपर्ने राय दिएका छन्।
न्यायाधीश पुडासैनीले आफ्नो राय (आदेशमा) मा भनेकी छन्, ..'तहाँ अदालतबाट भएको आदेश वेरितको नदेखिनुका साथै निवेदनमा उल्लिखित अन्य प्रतिवादीहरू लक्ष्मी देवी कार्की राजवंशीको हकमा मिति २०८१ माघ ३ मा ५ लाख, सुमन लोहनीको हकमा मिति २०८१ माघ १० मा दुई लाख, मनोज कुमार सोनीको हकमा मिति २०८१ माघ १० मा एक लाख रूपैयाँ धरौटी लिई मुद्दा पुर्पक्ष गर्ने गरी भएको आदेश मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट अभियोजित कसुरमा हुन सक्ने निज प्रतिवादीहरूको संलग्नतालाई बेवास्ता गरी भएको देखिएको हुँदा प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने नै हुँदा हाललाई उक्त आदेश परिवर्तन गरी रहनु परेन। कानुन बमोजिम गर्नू।'
न्यायाधीश बास्तोलाले भने जिल्लाको आदेश एक रूपको नदेखिएको उल्लेख गरेका छन्।
'प्रतिवादीहरूमध्ये उमागौरी कृषि सहकारीको सञ्चालक समितिको सदस्य तथा पदाधिकारीको रूपमा कार्य गर्ने प्रतिवादीहरुको कसुरमा हुन सक्ने संलग्नतालाई विचार गरी जिल्ला अदालतबाट एक रूपको आदेश भएको नदेखिँदा प्रतिवादी रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासका हकमा अभियोगपत्रमा उल्लिखित बिगो समेतलाई विचार गरी जनही एक करोड रूपैयाँ र अन्य प्रतिवादीहरू लक्ष्मी देवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही पच्चीस लाख रूपैयाँ, बैंक वा जेथा जमानत लिए थुनामा राखी मुद्दा पुर्पक्ष गर्नू र सो धरौटी दिन नसके कानुन बमोजिम गर्नू भनी पठाउनुभएकोमा माननीय न्यायाधीशज्यू श्री श्रीधरा कुमारी पुडासैनीको रायसँग सो हदसम्म सहमत हुन नसकेको हुँदा प्रस्तुत निवेदनहरू सुनुवाइका लागि तेस्रो न्यायाधीशको इजलास समक्ष पेस गर्नू।'
उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना अभियोगमा २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो। सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा आफै हाजिर भएकी थिइन्। उनी सोही दिन १० लाख रूपैयाँ धरौटीमा छुटेकी थिइन्। अरू पाँच जना भने पाँच–पाँच लाख रूपैयाँ धरौटीमा छुटेका थिए।
कोइरालासहित रंगेली २ का वडाध्य्क्ष सन्तलाल खवास, ज्योती बास्कोटा, लक्ष्मी देवी कार्की राजवंशी सुमन लोहनी र सहकारीका पूर्वसञ्चालक मनोज कुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा निवेदन परेको हो।
सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।