राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र नयाँ कार्यालय स्थापना गरेको छ। सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोषको रारास्थित कार्यालयको उद्घाटन गरेका हुन्।
निकुञ्जको केन्द्रीय कार्यालय रहेको हुटुमा कोषको रारा संरक्षण कार्यक्रम अफिसको उद्घाटन गरिएको कोषका सदस्य सचिव नरेश सुवेदीले जानकारी दिए। उक्त कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता सम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धानका कार्यहरू गर्ने सदस्य सचिव सुवेदीले बताए।
कोषका अध्यक्ष समेत रहेका वन मन्त्री शाहीले रारामा स्थापना गरिएको कार्यालयबाट मुगुवासीले जैविक विविधता तथा जलवायु परिवर्तनलगायतका क्षेत्रमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे।
कोषको यो कर्णाली प्रदेशमा पहिलो कार्यालय हो। नयाँ कार्यालयले कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य, र पर्यटन प्रवर्द्धनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
एनटिएनसी अन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमले हाल उक्त फिल्ड अफिसको प्रारम्भिक गतिविधिहरूको संयोजन गरिरहेको छ। एनटिएनसीका अनुसार यो पहल नेपालको एक दुर्गम तर जैविक दृष्टिले समृद्ध भूभागमा संरक्षण तथा दिगो विकासलाई नयाँ उचाइमा लैजाने रणनीतिक कदम रहेको जनाएको छ।
योसँगै कोषको मधेश प्रदेश बाहेक नेपालका सबै प्रदेशहरूमा कार्यालय विस्तार गरेको छ। कोषले तराई क्षेत्रलाई लक्षित गरेर कोसी, चितवन, बर्दिया र शुक्लाफाँटामा कार्यालय सञ्चालन गरेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए। हाल कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको अधिकृत पोखरेलले बताए। यस्तै, कोषले जावलाखेलमा रहेको सदर चिडियाखानाको पनि व्यवस्थापन गर्दै आएको छ।