गैंडाकोटको जुक्तीखोलामा पौडी खेल्नेक्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार भरतपुरका तीन युवक पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर १ र वडा नम्बर ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्न गएका थिए।
उनीहरूमध्ये भरतपुर महानगरपालिका-८ गौरीगञ्ज घर भएका १६ वर्षीय प्रमिशन पाठक र भरतपुर-४ धर्मचोक घर भएका १६ वर्षीय शिशिर पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी मधु नेपालले जानकारी दिए।
सँगै गएका अखिल लामिछानेले पौडी खेल्नेक्रममा दिउँसो साढे २ बजेतिर साथीहरू डुबेको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। डुबेका किशोरहरूको शव नजिकै काम गरिरहेका मजदुरहरूले बाहिर निकालेको नेपालले बताए।
मृतक पाठक र पन्त एसईई परीक्षा सकेर परीक्षाफलको पर्खाइमा थिए।