अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ।
सशस्त्र प्रहरीले चौबीसै घण्टा सीमा गस्ती गर्ने र आउजाउ गर्नेहरूको अभिलेखीकरण गर्न थालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमा सुरक्षा थप प्रभावकारी बनाउन तथा हुन सक्ने अवैध आवतजावत रोक्न सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरूसँग भेटघाट, छलफल तथा अन्तर्क्रियालाई समेत तीव्रता दिइएको उनले बताए।
यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने काम कडाइका साथ गरिएको छ।
हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनका लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका थिए।
सोही अनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरूले समेत यसलाई उच्च प्राथमिकतामा राखी सबै जिल्लाहरूमा सुक्ष्म रूपमा खबर संकलन तथा अपरेसनल कार्यसमेत गरिरहेको डिएसपी थापाले बताए।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा निगरानीका लागि झापाको काकडभिट्टा, पर्साको वीरगन्ज र रूपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेर जाँच गर्ने गरेको छ।
यसैगरी पहिलेदेखि नै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमा क्षेत्रमा २४ सै घन्टा रहने गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित लामो दुरीको 'पट्रोल' लाई निरन्तरता दिइएको छ।
भारतीय समकक्षीसँगको बाहिनी मुख्यालय, गण, गुल्म र बिओपीस्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरूको अवैध आवतजावत रोक्ने विषय मुख्य एजेन्डका रूपमा रहेकाले सोही बमोजिम समन्वय गरी निगरानी बढाइएको हो।
यसका साथै सरोकारवाला अन्य निकायसँगको समन्वय र सहकार्यमा सीमानाकामा कडाइका साथ जाँच गर्ने, निगरानी बढाउने तथा अवैध क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन प्रधान कार्यालयबाट आवश्यक निर्देशन तथा परिपत्रसमेत गरेको डिएसपी थापाले जानकारी दिए।