दाङमा शिक्षकमाथि हतियार प्रहार गरी फरार भएको आरोपमा प्रहरीले एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित हिमाल एकाडेमी भित्र ३७ वर्षीय शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीले कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश विकलाई पक्राउ गरेको हो।
विक शनिबार राति पौने ९ बजेतिर तुलसीपुर–४ को हलवार क्षेत्रमा सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
गत फागु पूर्णिमाको दिन शिक्षक श्रेष्ठले आफूमाथि बिना कारण कुटपिट गरेको बदलामा खुँडा प्रहार गरेको बयान दिएका छन्।
तुलसीपुर प्रमुख एवं डिएसपी अनिल ठकुरीका अनुसार शिक्षक श्रेष्ठले उनलाई झापड हिर्काएको बयान दिएको बताए।
‘होलीको दिन टिका लगाएको थिएँ। शिक्षकले विद्यालय बाहिर तीन पटक झापड हिर्काए। भित्र गएर पनि हिर्काए। त्यो कुटाइ पछि मैले एउटा कान नै सुन्न छोडेको छु, उपचार गरिरहेको छु,’ विकको भनाइ उदृत गर्दै उनले भने, ‘मलाई बिना कारण अंगभग हुने गरी कुटेको हुँदा बदालाको भाव जागेपछि आक्रमण गरेको हुँ।’
गत शुक्रबार सवा १० बजेटिर तुलसीपुर–४ रक्षाचौरका विकले शिक्षक श्रेष्ठमाथि खुँडा प्रहार गरेका थिए। शिक्षक श्रेष्ठको घाँटी, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। हाल शिक्षक श्रेष्ठ उपचार पछि डिस्चार्ज भइसकेका छन्।
प्रहरीको हिरासतमा रहेका उनले कक्षा १२ को परीक्षा दिन नपाउने भएका छन्। उनलाई आइतबार म्याद थप गर्न जिल्ला अदालत दाङ लग्ने तयारी छ। उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान हुने भएको छ।
यो पनि: विद्यार्थीले गरे शिक्षकमाथि हतियार प्रहार