बारमा अपहरण गरी फिरौती रकम मागेको आरोपमा ४ जना पक्राउ परेका छन्।
पर्सा वीरगंज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता,२५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र एक जना नाबालक पक्राउ परेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार (वैशाख १६) गते पक्राउ गरेको हो।
उनीहरूले बारा कलैया उपमहानगरपालिका वडा-१८ बस्ने २६ वर्षीय सुधिरप्रसाद साहलाई अपहरण गरी बन्धक बनाएर फिरौती रकम माग गरेको सुचना मिलेको थियो।
अनुसन्धानको क्रममा सुधिरलाई पर्सा वीरगंन्ज महानगरपालिका-१२ बाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए।
उनीहरूविरूद्ध शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।